मुगु : मुगुको खत्याडमा स्थानीय रैथाने बीउ प्रदर्शनी गरिएको छ । पश्चिम खत्याड गाउँपालिाकामा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो कार्यक्रम सञ्चालन गरिएको हो । मेलामा खत्याड गाउँपालिकाका स्थानीय कृषकहरुले आफ्नो खेतबारीमा उत्पादन गरिएका रैथाने कृषि बीउविजन प्रदर्शनी गरिएका थिए ।
शनिबार खत्याड गाउँपालिका–११ लुइ, रातापानीमा स्थानीय रैथाने विउ प्रदर्शनी मेला तथा ऐचोपैचो कार्यक्रमले स्थानीय कृषकहरुलाई कृषि उत्पादनमा उत्साह थपेको छ । खत्याड बहुउद्देश्यीय सहकारी संस्था र मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालको आयोजना, सामाजिक सेवा अध्ययन केन्द्रको आर्थिक सहयोग र खत्याड गाउँपालिकाको समन्वयमा सञ्चालित कार्यक्रमले खत्याड गाउँपालिकाका स्थानीय किसानलाई कृषिमा प्रोत्साहन गर्न सहयोग मिलेको बताइएको छ ।
खत्याड गाउँपालिका वडा नं ८, ९, १०, ११ का सहभागी किसान तथा कृषक समूहहरुले आफूले उत्पादन गरेका समुदायमा पाइने रैथाने बीउ एक सयदेखि ४९० जातका कृषि सामग्री प्रदर्शनीमा राखेका थिए । मेलामा ९ वटा रैथाने बीउको स्टलमार्फत राखिएको थियो ।
रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ खत्याड गाउँपालिकाको रातापानीमा मेला प्रदर्शनी गरिएको मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालका कार्यक्रम प्रबन्धक नमराज रावतले बताए । किसानहरुलाई यस्ता मेलामार्फत स्थानीय बाली प्रयोग गर्न कृषि उत्पादनमा जोडदिनुका साथै कृषि क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।
पछिल्लो समय रैथाने बाली लोप हुन लागेकाले यसको उत्पादन वृद्धि र किसानलाई महत्व बुझाउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । स्थानीय कृषि बीउ मेलाले स्थानीय बीउ र स्थानीय बाली संरक्षणमा ठूलो टेवा पुग्ने खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताए ।
उनले खत्याड गाउँपालिका क्षेत्रभित्रको कृषि सामग्री बजारसम्म बजारीकरणका लागि कृषि एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता समेत गरे । खत्याड गाउँपालिका कृषि क्षेत्रका लागि मूलधार पनि हो । कृषिमा लगानी गर्ने र कृषि क्षेत्रमा बढवा दिने गैरसरकारी संस्थासँग हातेमालो गरेर यस क्षेत्रमा रैथाने बाली र बीउबिजनको जर्गेना र संरक्षणसमेत गरिने खत्याड गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाले बताइन् ।
स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो कार्यक्रममा सहभागी किसानहरुले यस्ता कार्यक्रम हरेक वर्ष राख्न आग्रह गरेका छन् । यस्ता कार्यक्रमले कृषि क्षेत्रमा लागेका कृषकहरुलाई हौसला हुने भएकाले हरेक वर्ष यस्ता मेलाको आयोजना गर्न माग गरिएको छ ।