नेपालगन्ज : क्रियटीभ चिल्ड्रेन होम मन्टेश्वरीले शैक्षिक सामग्री तथा प्रयोग विधि प्रदर्शनी गरेको छ । बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि शैक्षिक सिकाइ, क्रियाकलाप र मन्टेश्वरी विधि प्रस्तुत गरी अभिभावकहरुलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी गरिएको हो ।
मन्टेश्वरी स्कुल, अभिभावक र बालबालिका बीचको सम्बन्ध सकारात्मक र प्रभावकारी बनाउने, प्रारम्भिक बाल विकास पाठ्यक्रममा आधारित विषयवस्तु अन्तर्गतको सिकाइ, सामग्री व्यवस्थापन र सिकाइ विधि प्रस्तुत गरी पुस्तक बिना पनि सिक्न सकिने अभ्यास सम्भव छ भन्ने प्रदर्शनीबाट प्रमाणित हुने मन्टेश्वरीकी संस्थापक प्रिन्सीपल खिमा थापाले बताइन् ।
स्थानीय कच्चा पदार्थ र खेर गएका काम नलाग्ने सामग्री प्रयोग गरेर हस्त निर्मित सुन्दर तथा आकर्षक शैक्षिक सामग्री तयार गर्न सकिन्छ भन्ने उदाहरण प्रदर्शनीमार्फत् अभिभावक र बालबालिकाहरुलाई पनि सचेत गराउने प्रदर्शनीको अर्को सिकाइ भएको मन्टेश्वरी एशोसिएसन बाँकेकी सचिव समेत रहेकी मन्टेश्वरीकी संस्थापक प्रिन्सीपल थापाले बताइन् ।
२०७२ सालमा स्थापित यस मन्टेश्वरीले यस्तो प्रदर्शनी गरेको तेस्रो पटक हो । प्रदर्शनीमै समावेश गरिएका शैक्षिक सामग्रीहरु स्कुलको नियमित पठनपाठनमा यही विधि अनुसार दिगो सिकाइको लागि सिकाइ गराउँदै आएको स्कुलका संस्थापक अध्यक्ष रेणु शेरचनले बताइन् । प्रदर्शनीमा शिक्षिकाहरुबाट तयार गरिएका शैक्षिक सामग्री, विधि र हस्त निर्मित सामग्रीहरु स्कुलका बालबालिकाहरु स्वयम्ले तयार गरेका हुन् । मन्टेश्वरी एशोसिएसन बाँकेका अध्यक्ष अध्यक्ष दुर्गा बजगार्इंले बालबालिकाहरुको मानसिक, शारीरिक तथा सर्वाङ्गिण विकासका लागि यस किसिमका प्रदर्शनीले टेवा पुर्याउने बताइन् ।