काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले नेता/कार्यकर्तामा आस भर्न खोजेका छन् ।
प्रचण्डले आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा ३० पेजको ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरे ।
राजनीतिक प्रतिवेदनमा प्रचण्डले नेता÷कार्यकर्तामा आस भर्न माओवादीको सुखद भविष्य देखाउन खोजेका छन् । बलियो कम्युनिस्ट शक्तिका लागि एकता र ध्रुवीकरणको प्रस्ताव गरेका छन् । विभिन्न अभियान चलाएर पार्टीलाई क्रियाशील बनाउने र फरक मतलाई सम्मान गर्ने पनि उनको योजना छ ।
बलियो कम्युनिस्ट शक्तिका लागि क्रान्तिकारी शक्तिहरूसँग एकता गर्ने प्रचण्डको प्रस्ताव छ । प्रचण्डले धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महिन्द्रा राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतसँग एकताको पहल गर्ने भनेका हुन् ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापटोका अनुसार माधव नेपाल र विप्लवसहित ५ वटा पार्टीसँग एकताको पहल गर्ने प्रस्ताव प्रतिवेदनमा छ ।
‘वैज्ञानिक समाजवाद मान्नेहरूसित एकताको लागि पहल गर्ने भन्ने आएको छ’, सापकोटाले भनेका छन्, ‘यसअन्तर्गत नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीसँग एकताको लागि पहल गर्ने कुरा भएको छ ।’
माओवादीले महिला, दलित, मुस्लिम समुदायको विश्वास जित्न पनि खोजेको छ । यसका लागि राज्यका सबै संयन्त्रमा महिला सहभागिता ५० प्रतिशत पु¥याउन पहल गर्ने भनिएको छ ।
हाल राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने संवैधानिक व्यवस्था छ । अब संविधान संशोधन गर्दा यसलाई बढाएर ५० प्रतिशत पुर्याउन पहल गर्ने प्रस्ताव प्रचण्डले केन्द्रीय समितिको बैठकमा राखेका हुन् ।
‘अब महिलाहरूको अधिकार ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउनका लागि पहल गर्ने विषय आएको छ’, माओवादी उपाध्यक्ष सापकोटाले जानकारी दिए ।
उनका अनुसार यो विषय संविधान संशोधनको बहसमा उठाउने र आवश्यक प्रस्तावहरू अगाडि लैजाने तयारी पार्टीको छ ।
यसका साथै दलित र मुस्लिमको अधिकार लागू गराउनसमेत भूमिका खेल्ने भनिएको छ ।
उनले भनेका छन्, ‘दलित र मुस्लिमको विशेषाधिकारर लागू गर्ने विषयलाई पनि संविधान संशोधनको एजेन्डामा समावेश गर्ने भन्ने छ ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयलाई अगाडि बढाउने माओवादीको योजना छ । साथसाथै, युद्धकालीन समयमा जस्तै जातीय, क्षेत्रीय मोर्चाहरूलाई सक्रिय पार्ने पनि प्रचण्डको प्रस्ताव छ ।
‘पहिचानका मुद्दा ओझेलमा पर्न गएकोमा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ’, प्रचण्डले भनेका छन्, ‘जातीय, क्षेत्रीय मोर्चालाई सक्रिय बनाएर लैजानुपर्छ ।’
माओवादीले युद्धकालीन समयमा राष्ट्रिय मुक्तिको एजेन्डालाई अगाडि सार्दै उत्पीडित जाति र क्षेत्रीय मुक्तिका लागि भन्दै विभिन्न जातीय र क्षेत्रीय मोर्चाहरूको अभ्यास गरेको थियो । त्यसलाई फेरि नयाँ ढंगले अगाडि बढाउने प्रचण्डको प्रस्ताव छ ।
पार्टीभित्रको अन्तरविरोधलाई छलफलमा लैजाने भनेर प्रचण्डले आफूलाई नरम रूपमा देखाउन खोजेका छन् । खासगरी उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई लक्षित गरेर फरक प्रस्तावको तयारी गरिरहेका बेला प्रचण्डले त्यसमा आफू नरम रहेको संकेत गरेका हुन् ।
प्रचण्डले भनेका छन्, ‘वैचारिक बहसलाई नवौं महाधिवेशनमा टुंगो लगाऔं । हामीभित्र रहेका सबै विचारबारे वैचारिक मोर्चा बनाएर छलफल अहिलेदेखि नै चलाऔं ।’