२०८१ पुष २३ गते मङ्गलवार / Jan 07 , 2025 , Tuesday
२०८१ पुष २३ गते मङ्गलवार
Ads

बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा

ADV
मध्यान्ह
२०८१ पुष २२ गते १०:५८
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा

बागलुङ : बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१  सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै तीन करोड लगानी गरिसकेको थियो ।

यस अगाडि जिल्लाको गलकोट नगरपालिकालाई बालमैत्री घोषणा गरिएको थियो । बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार बालमैत्री पूर्वाधार निर्माण, विभिन्न अन्तरक्रिया कार्यक्रम र वडा-तहमा बालमैत्री सहजकर्ता खटाइएको थियो भने बालमैत्री विद्यालय, बालमैत्री पूर्वाधार र स्वास्थ्य तर्फका सबै सूचक पूरा गरिएको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा र कार्यक्रमका लागि मात्रै  रु. एक करोड २५ लाख बजेट विनियोजन गरेको छ ।

उक्त बजेटबाट बालमैत्री विद्यालय भवन निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ । टोल–टोलमा बाल क्लब गठन गर्ने बालबालिकालाई सामाजिक कार्यक्रममा सहभागी गराउने, बालविवाह, बालश्रम अन्त्य गर्ने लगायतका अभियान सम्पन्न भइसकेको र अबको ध्यान नगर घोषणासँगै दिगोपनाका लागि रणनीतिक योजना तयारमा ध्यान गएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । नगरपालिकाले गत आर्थिक वर्षासमेत रु. ४० लाख लागतमा नगरका  सामुदायिक विद्यालयको शौचालय, खानेपानी तथा बालमैत्री पूर्वाधारमा खर्च गरिसकेको छ ।

नगरपालिकाले आगामी दिनमा निर्माण गरिने हरेक विकास निर्माणलाई बालमैत्री तरिकाले निर्माण गर्नेछ । बालमैत्री नगरपालिका निर्माणले सामाजिक विकासलाई टेवा पुर्‍याउने बालमैत्री संयोजक तिलक आचार्यले जानकारी दिए ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७८, घोषणा कार्यविधि २०७९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बागलुङ नगरपालिकामा २०७९ जेठ ६ गतेदेखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरी २०८१ साल पुस मसान्तभित्र बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय अनुसार सबै वडा घोषणा गरिएको हो ।

बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने गरी नगरपालिका बालमैत्री बनाइएको हो ।-रासस 

ADVADV

सम्बन्धित खबर

Advertise