साउदी अरब : नेपाली तामाङ घेदुङ संघ, साउदी अरबको आयोजनामा तामाङ समुदायको महान पर्व ‘सोनाम ल्होछार’ मञ्जुश्री संवत २८६१ (डुल ल्हो सापुखी) को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
आगामी २४ जनवरी २०२५ का दिन साउदी अरबको रियादस्थित ‘एभिन्यू–१’ हलमा दिउँसो १२ बजे कार्यक्रम आयोजना गरिने संघले जनाएको छ ।
कार्यक्रममा प्रमुख आकर्षणका रूपमा राष्ट्रिय स्तरमा चर्चित गायक रोज मोक्तान र गायिका सुनिता लो तामाङले आफ्नो सांगीतिक प्रस्तुति दिनेछिन् । साथमा, तामाङ संस्कृति झल्काउने अन्य विविध सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत हुनेछन् ।
नेपाली तामाङ घेदुङ साउदीका महासचिव नागेश तामाङले कार्यक्रमलाई सफल बनाउन सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।
गत वर्षको कार्यक्रममा चर्चित व्यक्तित्व तथा नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई प्रमुख अतिथि बनाइएको थियो ।
यस वर्ष पनि विशेष कार्यक्रमसहितको सोनाम ल्होछार उत्सवले साउदी अरबमा रहेका नेपाली समुदायमा सांस्कृतिक एकताको सन्देश फैलाउने विश्वास लिइएको छ ।