काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन–असोज) मा ३.४ प्रतिशतले आर्थिक वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको असोजसम्ममा मौसमी प्रभाव समायोजना नगरिएको आर्थिक वृद्धि ३.४ प्रतिशतमा सीमित रहने अनुमान गरेको हो । कार्यालयले मौसमी प्रभाव समायोजन नगरिएको त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको ३ महिनामा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको हो । उक्त अवधिमा आर्थिक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमन लगायतको सुचकमा आएको सकारात्मक वृद्धि लगायत रहेको छ ।
यस्तै, यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्रमा सकारात्मक वृद्धि देखिएको हो । यस्तै गत असोजमा बाढी तथा पहिरोको कारण निर्माण क्षेत्रलाई असर गरेको कार्यालयले जनाएको छ । त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान कार्यालयको छ ।
गत आवको चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये ६ वटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको हो । विद्युत् र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान कार्यालयको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १७ ओटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर बढेको हो । जसमध्ये विद्युत् तथा ग्याससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै २१.४ प्रतिशत वृद्धिदर रहेको छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।
यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ । त्यसैगरी, निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान गरिएको छ । प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अंकले संकुचनमा रहेको प्रारम्भिक अनुमान गरिएको छ । अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । धान लगायतका वर्षे वालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे वालीहरू र पशुपंक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ । समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षा भएका कारण कृषिजन्य उत्पादनमा वृद्धि भएको हो ।
अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रमा ०.५ प्रतिशत र औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर २.३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको हो । यस्तै प्रथम त्रैमासमा शिक्षा ०.४ प्रतिशत, स्वास्थ्य ४.१ प्रतिशत घरजग्गा कारोबार ३.१ प्रतिशत र सेवा क्षेत्र लगायत अन्य क्रियाकलापको वृद्धिदर सामान्य रहेको छ ।