२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

प्रशासनले इजतेमा कार्यक्रम रोक्न लागेको भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

ADV
इसत्याक अहमद
२०८१ पुष २३ गते २२:५१
प्रशासनले इजतेमा कार्यक्रम रोक्न लागेको भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

रौतहट : संघीय समाजवादी पार्टी मुस्लिम संघले जिल्ला प्रशासन कार्यालय रौतहटले इजतेमा कार्यक्रम रोक्न लागेको भन्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । 

संघले आगामी माघ २६, २७, २८ गते रौतहटको परोहा नगरपालिका–८,नरकटिया टोलमा मुस्लिम धर्मावलम्बीहरूको धार्मिक परम्परा, रीतिथिति र अन्य धार्मिक क्रियाकलापहरू सिकाइने महत्वपूर्ण कार्यक्रम ‘इजतेमा’ आयोजना गर्ने तय भएपनि कार्यक्रमलाई जिल्ला प्रमुख अधिकारी रौतहटको आदेशअनुसार रोक्ने प्रयास भएको भन्दै गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाइएको हो । 

संघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘नेपालको संविधानले सबै जाति, भाषा, संस्कृति, तथा मौलिक अधिकारको सुनिश्चितता गरेको छ । तर, हालैका घटनाक्रमले मुस्लिम समुदायको आस्थामा गम्भीर चोट पुगेको महसुस भएको छ । नेपाल बहुजातीय, बहुभाषीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण देश हो । यस मुलुकमा मुस्लिम समुदायको फरक पहिचान र अस्तित्वलाई संविधानले मान्यता दिएको छ ।’ 

संघले यो कार्य नेपाल सरकारद्वारा संविधान प्रदत्त मौलिक हकको गम्भीर उल्लंघन भएको भन्दै निर्णय असंवैधानिक, अलोकतान्त्रिक, र निरंकुश प्रवृत्तिको रहेको जनाएको छ । 

ज्ञापनपत्रमा भनिएको छ, ‘राज्य कुनै एकल व्यक्ति, जात, धर्म, वा सम्प्रदायको मात्र नभइ सबै नेपालीको साझा थलो हो । यसकारण, सो धार्मिक क्रियाकलाप निर्विघ्न रूपमा सम्पन्न गर्न दिन नेपाल सरकारसमक्ष हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

संघले गृहमन्त्रीले संविधान सम्मत र न्यायोचित ढंगले आफ्ना मागहरू पूरा गर्ने अपेक्षा राखेको छ ।  अन्यथा, पार्टी मागहरू पूरा गराउन बाध्य भएर चरणबद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।

No description available.

ADVADV

सम्बन्धित खबर

Advertise