मोरङ : पथरी–शनिश्चरे नगरपालिका– ४ मा रहेको श्री भागीरथ उच्चमााविमा अध्ययनरत कृषितर्फका विद्यार्थीहरूले छात्रवृत्ति पाएका छन् ।
वडामा खेती किसानी गर्नेहरूलाई व्यवस्थित र वैज्ञानिक खेतीको प्रयास हुन नसकेको भन्दै वडा– ४ ले आधुनिक कृषिमा जोड दिन छात्रवृत्ति प्रदान गरेको हो ।
वडा अध्यक्ष लोककिरण न्यौपानेले भने, ‘नगरको बजेटले हामीले पुरानै पाराको अझ भनौं कर्मकाण्डी मात्र बनाइरहेका छौं । बिउ, मल आदिमा अलमल गर्दागर्दै आधा कार्यकाल बितिसक्यो ।’
कृषिलाई व्यवस्थित गर्ने र वैज्ञानिक बनाउने दीर्घकालीन सोचका साथ भागीरथ उच्चमाविका केही छात्र–छात्रालाई आफूहरू निर्वाचित भएर आएकैै वर्षदेखि छात्रवृत्ति प्रदान गरिरहेको न्यौपानेले बताए ।
उनीहरूको पढाइ सकिएपछि अर्थात् ६ महिनापछि १ वर्ष स्वयंसेवा लिने वडाको सोच रहेको उनको भनाइ छ ।
यस योजनाअन्तर्गत सुजता अछामीलाई ४० हजार, बन्दना सुवेदीलाई ४० हजार र अभिषेक ठटाललाई २० हजार रुपैयाँ प्रदान गरिएको थियो ।