काठमाडौं : मधेश प्रदेश सरकारको नेतृत्वदायी दल जनमत पार्टीले सहयात्री दलहरूमाथि आक्षेप लगाएपछि सत्ता गठबन्धनमा मतभेद उत्पन्न भएको छ । जनमत पार्टीले सत्ता गठबन्धनकै दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले मधेश सरकारलाई घेराबन्दी गरेको आरोप लगाएपछि सत्ता गठबन्धन २ ध्रुवमा विभाजित भएको हो ।
सरकारलाई असफल देखाउन सरकारमै रहेका दल एमाले र कांग्रेसले योजनाबद्ध गतिविधि गरिरहेका आरोप जनमत पार्टीका अध्यक्ष सीके राउतले लगाएपछि मतभेद छताछुल्ल भएको हो । सत्ता गठबन्धनमा मतभेद भएपछि सतिशकुमार सिंह नेतृत्वको सरकार संकटतर्फ धकेलिएको आशंका नेताहरूले गरेका छन् ।
प्रदेशसभाको ठूलो र दोस्रो दल एमाले तथा कांग्रेसको समर्थनमा सिंह मुख्यमन्त्री बनेका हुन् । प्रदेश सरकारमा कांग्रेस र एमालेका साथै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी छ । मुख्यमन्त्री सिंहले अर्थमन्त्री यादवलाई स्पष्टीकरण सोधेर सार्वजनिक गरेपछि कांग्रेस चिढिएको हो ।
चालू आर्थिक वर्षको ५ महिना बितिसक्दा पनि विकास खर्च १ प्रतिशत नाघ्न नसक्दा सरकारको आलोचना भइरहेको छ । यसै विषयमा जनमतका अध्यक्ष राउतले प्रमुख सत्ता साझेदार दलहरू कांग्रेस र एमालेप्रति कडा टिप्पणी गरेका हुन् । राउतले सामाजिक संजाल फेसबु्कमार्फत ८ बुँदे धारणा सार्वजनिक गरी प्रदेश सरकारमा सहभागी कांग्रेस र एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई काम गर्न नदिएको र नटेरेको आरोप लगाएका हुन् । प्रदेश प्रमुख सचिवसहित मन्त्रालयका सचिव र मन्त्रीले मुख्यमन्त्रीलाई नटेरेर सरकारलाई असफल देखाउन षड्यन्त्र उनीहरूले गरिरहेको आरोप राउतको छ ।
कांग्रेसको नेतृत्वमा रहेको अर्थ मन्त्रालयले मंसिर महिनासम्म पीएलएमबीआईएस लक गरेर राखेको र यसबारे मुख्यमन्त्री सिंहले अर्थमन्त्री सुनिलकुमार यादवलाई सोध्दा कुनै सुनुवाइ नभएको आरोप पनि राउतको छ । बजेटमा राखेको दूरदर्शी, रोजगारमूलक तथा लोकप्रिय कार्यक्रम सफल भए भोलिका दिनमा आफूहरूलाई राजनीतिक घाटा हुने भन्दै कांग्रेस र एमालेले विभिन्न षड्यन्त्र गरेर रोक्ने काम गरेको पनि अध्यक्ष राउतले शुक्रबार ८ बुँदे धारणा सार्वजनिक गर्दै आरोप लगाएका छन् ।
‘ठूला दलका नेताहरूले जनमत नेतृत्वको सरकार ढाल्दै छौं भनेर हल्ला चलाउने, सचिवहरूलाई मन्त्रालयको कुनै काम अघि नबढाउन दबाब दिनेजस्ता काम गरेका छन्’, राउतले भनेका छन्, ‘विगतमा उपभोक्ता समितिमार्फत योजना खरिद–विक्री हुने गरेकामा यसपालि सरकारले टेन्डरमार्फत काम गर्न खोज्दा कांग्रेस र एमालेले नै विगतमा जस्तै उपभोक्ता समितिमार्फत काम गर्ने रणनीतिमा लागेका छन् ।’
तर, सरकार संचालनका साथै महत्त्वपूर्ण निर्णय लिँदा मुख्यमन्त्री सिंहले गठबन्धन दलसँग सल्लाह लिने नगरेको आरोप कांग्रेस–एमालेको छ । मधेश सरकारको नेतृत्वकर्ता दल जनमतले कांग्रेस–एमालेमाथि आरोप लगाएपछि सत्ता गठबन्धन दलबीच अविश्वास पैदा भएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव
बताउँछन् ।उनले मुख्यमन्त्री सिंहको अक्षमता ढाकछोप गर्न कांग्रेस–एमालेमाथि जनमतले आरोप लगाएको दाबी गरे । ‘मुख्यमन्त्री सिंह आफैंले काम गर्न सकेका छैनन्’, यादवले भने, ‘यस्तो अवस्थामा अध्यक्ष राउतले अरूलाई दोष देखाएर आफू चोखिन खोजेका मात्र छन् ।’ मुख्यमन्त्री सिंहले काम गर्न नसकेको दोषारोपण कांग्रेस र एमालेमाथि लगाइएको उनले दाबी गरे ।
यादवले सत्ता साझेदार दलहरूमाथि सम्पूर्ण दोष देखाउने प्रवृत्तिले गठबन्धन नचल्ने चेतावनी पनि दिए । यस्तै, एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले पनि जनमतको अभिव्यक्ति अपरिपक्व राजनीतिको उपज भएको टिप्पणी गरे । अध्यक्ष राउतले आफूहरूमाथि लगाएको आक्षेप कपोलकल्पित रहेको उनले भने । ‘उहाँले जुन आक्षेप लगाउनुभएको छ, त्यो निराधार र कपोलकल्पित हो’, मन्त्री यादवले भने, ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेका छैनौं ।’
गठबन्धनभित्रै समस्याको समाधान नखोजेर जनमतका अध्यक्ष राउतले सामाजिक संजालमार्फत टिप्पणी गर्नु उपयुक्त नभएको उनको भनाइ छ । ‘केही समस्या छ भने गठबन्धनभित्र बसेर समाधान खोजिनुपर्छ तर सरकारको नेतृत्व गरिरहेको दलका राष्ट्रिय अध्यक्षले यसरी प्रतिक्रिया दिनु दुःखद् हो’, यादवले भने ।
तर, जनमत पार्टीका प्रवक्ता शरद्सिंह यादवले मधेश सरकारका विषयमा अध्यक्ष राउतले सार्वजनिक गरेको धारणा सरकारले भोग्दै आएको समस्या भएको दाबी गरे । उनले कांग्रेस र एमालेले सरकारको नेतृत्व पाउनका लागि मुख्यमन्त्रीलाई असफल बनाउन खोजेको दाबी गरे । ‘सरकारले राम्रो काम गर्दागर्दै त्यसलाई असफल बनाउने योजना कांग्रेस र एमालेको छ’, यादवले भने, ‘पार्टी अध्यक्षले दिएको सुझावलाई सकारात्मक रूपमा ग्रहण नगरी २ दल सरकार ढाल्ने प्रयन्तमा छन् ।’ उनले मधेशमा सत्ता गठबन्धनमा खटपट आए केन्द्रीय गठबन्धनबाट जनमत बाहिरिने चेतावनी दिए ।
यसैबीच कांग्रेसका प्रदेश सांसद मो. समिमले काम गर्न नसकिए ठाउँ छाड्न मुख्यमन्त्री सिंहलाई चेतावनी दिएका छन् । बु्धबार प्रदेशसभा बैठकमा बोल्दै सांसद समिमले गठबन्धनका नेताहरूमाथि राउतले काम गर्न नदिएको आरोप लगाएको सन्दर्भमा आपत्ति जनाउँदै भने, ‘गठबन्धनकै साथीहरूको बुइ चढेर मुख्यमन्त्री बन्ने र गठबन्धनकै साथीहरूलाई लुटेरा र डाका भन्ने ? स्टन्टबाजी गर्ने ? काम गर्न सक्नुहुन्न भने ठाउँ छाडे हुन्छ’, सांसद समिमले भने ।