-बाबुकाजी कार्की
चीनमा उत्पन्न भएको कोरोना भाइरस अहिले विश्वप्यापी भएको छ । कोरोना कहरले मानव दिनचर्यालाई अस्तव्यस्त बनाउँदै गएको जगजाहेर छ । कोरोना आक्रमणबाट धनी गरीब, ठूलो सानो, शक्तिशाली निमुखा, महिला पुरुष, जातजाति, भौगोलिक अवस्थिति आदिमा विभेद नगरी आक्रमण गरिरहेको छ । विश्वव्यापी रुपमा आइलागेको यस संकटले सर्बत्र अस्तव्यस्त र अन्यौलता छाएको छ । अदृश्यकाल बनेर अहिले कोरोना विश्वभर घुम्दै छ । चिकित्सा क्षेत्रमा मानवले गरेको वैज्ञानिक चमत्कारलाई समेत चुनौति बन्दै गएको छ कोरोना । सर्बत्र संक्रमणको त्राहीमाम छाइराखेको अवस्थामा केही मतिभ्रष्टहरु व्यक्तिगत लाभका लागि कमिशन र कालोबजारीमा कमाउन र रमाउन तल्लिन देखिदै छन् ।
मानव सभ्यता र समाजलाई तहसनहस पार्ने गरी दिनानुदिन फैलिदै गएको यस अदृश्य शत्रुलाई परास्त पार्ने ठोस उपाय र औषधि अहिले सम्म पत्ता लाग्न सकेको छैन् । विश्वका स्रोतसाधान सम्पन्न धनि देशहरुमा यसको प्रकोप झन डरलाग्दो हुँदै गएको छ । चीनपछि युरोपका देशहरु इटाली, स्पेन, फ्रान्समा मात्र नभएर विश्व सर्वशक्तिमान अमेरिकामा समेत कोरोनाले त्राहिमाम बनाउँदै छ । कोरोना संक्रमितको संख्या दिनप्रति दिन थपिँदै छ । अमेरिका जस्तो देशमा पनि स्वास्थ्य सामग्री तथा औषधीहरुको अनिकाल बढ्दै गएको छ । दैनिक उपभोग्य सामग्रीहरुको अभाव पनि विस्तारै खट्किँदै छ । कोरोना संक्रमणको दुष्चक्रीय चेन तोड्न लकडाउन नै रोकथामको अहिलेसम्मको उत्तम उपाय ठहरिएको छ । आपूर्ति व्यवस्था सहज नभएको कारणबाट खासगरी दैनिक काम गरेर बिहान बेलुकी छाक टार्ने विपन्न परिवारलाई लकडाउनले नराम्रोसँग अस्तव्यस्त बनाएको जगजाहेर छ ।
विपन्न, सुकुम्वासी, दैनिक ज्यालादारी, साना व्यवसायी लगायतका निम्न आय वर्गका परिवारलाई लकडाउनको निरन्तरताले कोरोना भाइरसको त्रासले भन्दा बढी भोकले पिरोलोको छ । यस वर्ग रोग र भोक दुवै शत्रुको सामना गर्न विविश छन् । आफ्ना अबोध बालबाच्चाको भोक मेटाउन झिनो आस गरेका सरकारी राहत प्राप्तिमा नागरिकता, सिफारिसलगायतको झमेलाले टाठाबाठालाई फाइदा पुग्ने देखिन्छ । कोरोना लकडाउनको दुरुपयोग गर्दै गलत बाटोबाट कालो बजारी गरेर फाइदा लिने तत्वहरको लागि अहिले चिठ्ठा परेको छ । कोरोना कहरको चपेटामा परेका व्यक्तिहरुलाई सहयोग गर्नेको कमी नभएपनि अनेक तिकड्म संकटमा सम्पत्ति थुपार्नेहरुको जमातको कमी पनि छैन । मास्क, औषधी, खाद्य वस्तुहरुमा कृत्रिम अभाव बनाएर अत्याधिक मूल्यम बिक्री गर्नेहरु सलबलाएका छन । यस कुकृत्यमा लाग्ने केही कार्वाहीको दायरामा आए पनि स्थितिमा सुधार आएको छैन् ।
नेपालमा कोरोना परीक्षणको पर्याप्त प्रयोगशाला नभएकाले संक्रमणको खास स्थिति पत्ता लागेको छै्रन । घरमा आगो लागेपछि इनार खन्ने प्रवृत्तिको कारण कोरोना पहिचान र उपचार समयमा नहुँदा ठूलो विपत्तिको जोखिम उत्तिकै छ । भरखरै चीनबाट ठेकेदार मार्फत ल्याइएको चिकित्सकको सुरक्षाको लागि आवश्यक पिपिई तथा कोरोना भाइरस परीक्षण किटमा गुणस्तर र अनियमितता बारेको बहस चुल्लिएको छ । यस्तो राष्ट्रिय शंकट र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील विषयमा भ्रष्टाचार जस्तो गम्भिर प्रश्न उठ्नु निन्दनीय छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस भन्दा पनि मानवता विरोधी यस्ता प्रकृतिका भ्रष्टाचारको खतरा डरलाग्दो हो ।
समयमा कोरोना परीक्षण नहुदा अग्रपंतिमा रहेर काम गरिराखेका स्वास्थ्यकर्मीको ज्यान जोखिममा रहन्छ नै । चीन बाट ल्याइएका सामग्री गुणस्तर र पर्याप्ततामा चिकित्सकहरु विश्वस्त हुन सकेका छैनन् । महामारी संकटबाट अक्रान्त देश र जनतालाई यो वा त्यो बहनाबाट लुट्ने यस्ता भाइरसहरुको उपचार बेलैमा गर्न सरकार चुक्नु हुन्न । समयमा कोरोना परीक्षण नहुनाका कारण कोरोना आशंकाको कारण अन्य बिरामीले उपचार नै नपाएर बुटवलमा एकजनाले अनाहकमा ज्यान गुमाएका छन् ।
भारतबाट आफ्नो मातृभूमी फर्किन लागेका नेपालीहरुलाई सीमा नाकामा रोकेर बिचल्ली बनेका दर्दनाक दृश्य टेलिभिजनमा देख्दा कुन नेपालीको मन नकुडिएला । बोल्नेको पिठो पनि विक्ने नबोल्नेको चामल पनि नबिक्ने भने झैं चीनको वुहानबाट प्लेन चार्टड गरेर सरकारी खर्चमा नै खरीपाटीमा १४ दिन कोरेन्टाइनमा राख्ने सरकार स्वदेशमा रोजगार नपाएर मजदुरी गर्न भारत गएका निमुखा जनताप्रति देखाएको रवैया उदेक लाग्दो छ । नेपाल भारतका वोर्डरमा अलपत्र परेका नेपालीहरुको कोरोना परीक्षण तत्कालै गर्न सकेको भए यो अपजस सरकारले व्यहोर्नु पर्ने थिएन । ज्यान जोखिम मोल्दै महाकाली नदीमा हाम फालेर एउटा कट्टुको भरमा आफ्नो मातृभूमीमा नै मर्छु भनेर आउने इन्द्रसिंह खत्री जस्ता स्वाभिमानी जनताको सेवा र समरक्षण गर्ने सरकारको दायित्व हो ।
बुद्धिमान देखेर र मूर्ख परेर चेत्छ भने झैं हामीले पनि अरुको अवस्थाबाट सिकेर बेलैमा कोरोना विरुद्धको मार्गचित्र बनाएर नै रोकथामको उपाय अवलम्बन गर्न बिलम्ब गर्नु हुँदैन । विश्वका कतिपय देशहरुले कोरोना संक्रमणलाई गम्भिरतापूर्वक लिएर लकडाउन गर्ने लहर नै चलेको छ । मनिसको जमघट हुने राष्ट्रिय अन्तर्राष्ट्रिय सभा, समारोह, सम्मेलन, पर्व उत्सव स्थगित गरिएका समाचारहरु एकपछि अर्को आइराखेका छन् । कोरोनाको संक्रमणको डरले साउदी अरबले विदेशी मुस्लिमलाई पवित्र तीर्थस्थल मक्का र मदिनाको तीर्थयात्रामा रोक लगाउने निर्णय गरेको छ । मौजुुदा परिस्थतीमा सुधार नआएर जोखिम कायमै रहेमा साउदी अरबमा मूसलमानहरुको पवित्र तीर्थाटन हज र जुलाइमा जापानको टोकियोमा हुने ओलम्पिक खेल समेत एक वर्षका लागि स्थगित गरिएको छ । विश्व नै लकडाउनबाट ठप्प हुँदै छ ।
वर्तमानमा कोरोनाको उपचार असम्भव भएपनि रोकथाम सम्भव छ । अहिलेसम्मको अध्ययन र अनुभवबाट कोरोना संक्रमितमध्ये २ देखि ३ प्रतिशतको मात्र मृत्यु हुने देखिएपनि यसको निश्चित उपचार विधि पत्ता लागिसकेको छैन । यसको उपचार भन्दा पनि रोकथामका उपायहरु प्रभावकारी रुपमा अबलम्बन गर्नुको विकल्प छैन । रोगको लक्षण र सर्ने माध्यम तथा बच्ने उपायहरु बारे व्यापक जनचेतनाको खाँचो टड्कारो देखिन्छ । मनिसले आफ्नो बानी व्यहोरा र आहार, स्वस्थकर बनाएमा कोरोना भाइरस संक्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मीको सुझावलाई आत्मसात गर्ने तर्फ हेक्का राख्नु बुद्धिमानी हुन्छ ।
कोरोना भाइरसको औषधी पत्ता नलागेकोले रोकथाम नै यसबाट बच्ने उत्तम उपाय भएको छ । जनसम्पर्कबाट सहजै सर्ने यस भाइरसबाट बच्ने उपाय भनेकै मानव जमघटलाई बन्देज वा कम गर्नु नै हो । अहिले देशमा लकडाउन चलेको छ । साथै सभा सम्मेलन लगायतका भीडभाडजन्य कार्यक्रम नगर्न नगराउन सरकारले अपील गरेको छ । सरकारी निकायबाट आदेश, निर्देश र अपीलका कागजी झटारोले मात्रै भविष्यमा आइपर्ने विपत्ति टर्ने छैन । कोरोनाविरुद्धको भाषण र आश्वासन भन्दा एक्सन अहिलेको आवश्यकता हो । लकडाउनलाई अनुशासित बनाउन, आपूर्ति व्यवस्थालाई भरपर्दो बनाउन तथा अनियमिततालाई निर्ममतापूर्वक नियन्त्रण गर्न अन्य देशहरुको जस्तै आवश्यकता अनुसार सेना नै परिचालन गर्न पछि हटनु हुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies