काठमाडौँ : रौतहटको वृन्दावन नगरपालिकामा टिपरमा आगजनी भएको छ । वृन्दावन नगरपालिकास्थित गढिमाइ क्रसर उद्योगमा ११ हजार भोल्टको हाइटेन्सन तारमा टिपर टाँसिदा आगजनी भएको हो ।
बिहीबार बिहान ८ बजेको समयमा लु १ त २८४९ नम्बरको टिपरले ग्राभेल झार्ने क्रममा ११ हजार भोल्ट भएको तारमा परेर टिपर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ ।
टिपरका चालक ४३ वर्षीय जयप्रकाश सहनी विद्युतीय प्रवाहबाट गम्भीर घाइते भएका छन् । उनको गरुडास्थित निजी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि वीरगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।