२०८१ पुष २६ गते शुक्रवार / Jan 10 , 2025 , Friday
२०८१ पुष २६ गते शुक्रवार
Ads

‘हेल्लो हेल्थ’बाट एक सय ३० गुनासो सम्बोधन 

ADV
मध्यान्ह
२०८१ पुष २५ गते १६:५२
‘हेल्लो हेल्थ’बाट एक सय ३० गुनासो सम्बोधन 

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ ‘हेल्लो हेल्थ’ले एक सय ३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारका विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डाक्टर अनुप बास्तोलाले बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहत तथा समग्रमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या संकलन तथा समाधान गर्ने उद्देश्यले गत महिना एकाइ गठन गर्ने निर्णय गरेका थिए । पैसा नलाग्ने नम्बर १११५ तथा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२ का साथै मन्त्रालयको आधिकारिक फेसबुक र एक्स ह्याण्डलमा गएर सेवा सम्बन्धमा गुनासो तथा जानकारी दुवै लिने प्रबन्ध गरिएको छ ।

एकाइमा गत पुष ९ गतेसम्म प्राप्त विवरण अनुसार सबैभन्दा धेरै गुनासा अस्पताल सेवासँग सम्बन्धित ४१ दर्ता भएका छन् । यसैगरी बीमा सेवा २५, पारिश्रमिकसम्बन्धी १४, प्रशासनिक १५, पारिश्रमिकसँग सम्बन्धित १४ गुनासा दर्ता भएका छन् ।सुझाव सम्बन्धी ८ तथा अन्य २१ गुनासा दर्ता भएकामा आवश्यकताअनुसार तत्काल तथा प्राथमिकता दिएर सम्बोधन गरिएको एकाइ प्रमुख बास्तोलाले जानकारी दिए । यसअघि भइरहेको रोग तथा खोपसम्बन्धी जानकारी लिने दिने काम पनि एकाइले गरिरहेको बताए ।

मन्त्री पौडेलले आम नागरिकको चाहनाअनुसार स्वास्थ्य सेवा सुधार गर्ने क्रममा गुनासो सुन्दै सुनुवाइसमेत गर्ने गरी आवश्यक परे नीतिसम्बन्धी सुधार समेत गर्न सक्ने उद्देश्यले एकाइ गठन गरिएको बताए । ‘आम नागरिकलाई आफ्ना गुनासा भन्ने ठाउँ उपलब्ध होस् भनेर एकाइ गठन गरिएको हो । आएका गुनासा हरसम्भव सम्बोधनको प्रयास भइरहेको छ । तपाईंका गुनासा निर्धक्कसँग राख्नुस्’, उनले भने । 

उनले नागरिकका धेरै समस्या परेका विषय नीतिगत सुधार आवश्यक परे गर्न तयार रहेको पनि बताए । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पैसा नलाग्ने र गुनासा समेत सम्बोधन हुने भएकाले हेल्लो हेल्थमा गुनासा राख्न आग्रह गरे । 
 

ADVADV

सम्बन्धित खबर

Advertise