२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

Nada
२०८१ पुष २५ गते १७:४४
Shares
श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । 

ncell

भेटका क्रममा नेपाल र दक्षिण कोरियाबीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे छलफल भए‌को थियो । विशेषतः ईपिएस प्रणाली अन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने, सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि, ईपिएस उत्तीर्ण भई रोष्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउने, सीप बिल्डिंगलगायतका क्षेत्रमा छनोट भएका कामदारका मागहरू सम्बोधन गर्ने, कोरिया जान सबै चरण पुरा गरी उडानका लागि पर्खाईमा रहेका नेपाली कामदारहरूलाई छिटो, सरल र सहज ढंगबाट दक्षिण कोरिया पठाउन  सहजीकरण गर्नुपर्ने विषयमा छलफल भयो ।

मन्त्री भण्डारीले दक्षिण कोरिया जानका लागि परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका सबै नेपालीलाई पठाउन र आगामी दिनमा कामदारको माग सख्या बढाउनका लागि पहल गर्नुपर्ने बताए । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका, तयारीमा रहेका, विगतमा रोष्टरमा नाम परेका तर कोरिया जान नपाएकाहरू समेतलाई लक्षित गरी आगामी दिनमा विशेष व्यवस्था गर्नुपर्ने र सो कार्यका लागि सीप विकासमा कोरिया सरकारले सहयोग गर्नुपर्ने बताए ।

राजदूत ताइयोङले नेपाली कामदारहरूको उच्च कदर गर्दै नेपालबाट निरन्तर रुपमा कामदार लैजाने, रोष्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारमा लैजान पहल गर्ने र थप नेपाली कामदार लैजाने विषयमा आफू सकारात्मक रहेको बताए ।

नेपाली कामदारका लागि दक्षिण कोरिया उत्कृष्ट गन्तव्य रहेको र आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिनेसमेत सम्भावना भएको हुँदा दुबै पक्ष सीप विकास कार्यमा सहकार्यका लागि प्रतिवद्धता व्यक्त गरे ।
 

ताजा खबर

सम्बन्धित खबर