दोलखा : अब लागुपदार्थ सेवन गरेर चलाउने सवारी चालकलाई कारबाही हुने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दोलखा र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा बिहीबारदेखि लागुपदार्थ सेवन परीक्षण कार्यक्रम शुभारम्भ गरेको हो ।
सदरमुकाम चरिकोटमा कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख शिवराम गेलालले सवारी दुर्घटना न्यूनीकरणका लागि लागुपदार्थ सेवन जाँच प्रभावकारी हुने बताए । मापसे लापसे नगरेर सवारी साधन चलाउने कार्यको लागि प्रहरी र नागरिक एकआपसमा सहकार्य र समन्वय गरी आगाडि बढ्नु आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै भिमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धरले पनि सवारी साधनको गति नियन्त्रण र ट्राफिक नियमका बारेमा सवारी चालक तथा अन्य सर्वसाधारणलाई समेत सचेत पार्नु अतिआवश्यक देखिएको बताए । लागुपदार्थ सेवन न्यूनीकरणका रचनात्मक कार्यक्रमहरु गाउँघरमा पनि सञ्चालन गर्दा गाउँघरबाट आउने सवारीसाधनका सवारीचालक सचेत हुने दावी गरे । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक दाताराम अधिकारीले लामोसाँघु–जिरी सडक अन्तर्गत जिल्लाभित्रका विभिन्न ठाउँहरूमा जुनसुकै बेलामा पनि सवारी चालकहरुमा चेकजाँच हुने बताए ।
उक्त चेकजाँचका क्रममा मापासे गरेको पाइएमा उनीहरुलाई कानुन बमोजिम कारवाही गरिने बताए । कार्यक्रमले सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र लागुऔषध प्रयोग तथा ओसारपसार घट्ने समेत विश्वास व्यक्त गरे ।