कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ४, रमवापुरस्थित श्री शिव शक्ति आधारभूत विद्यालयमा ‘सुशासन, पारदर्शिता र जवाफदेहीताका लागि’ भन्ने मूल नाराका साथ सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले शिक्षालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले नगरपालिकाभित्रका सबै नागरिकका समस्या आफ्नै समस्या भएको उल्लेख गर्दै समस्या समाधानका लागि निरन्तर प्रयासरत रहेको स्पष्ट पारे ।
सार्वजनिक सुनवाइमा नगरवासीहरूले आफ्ना प्रश्न र समस्या प्रस्तुत गरेका थिए, जसको उत्तर सम्बन्धित शाखा प्रमुखहरूले दिएका थिए ।
उक्त कार्यक्रम कृष्णनगर नगरपालिकाको आयोजनामा, नेपाल पत्रकार महासंघ कपिलवस्तुको सहजीकरणमा र शिवराज मिडियाको समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रममा नगरप्रमुख रजत प्रताप शाह, उप–प्रमुख आरती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, वडाध्यक्षहरू, शाखा प्रमुखहरू, सञ्चारकर्मी, र सर्वसाधारणको सहभागीता रहेको थियो ।