जलेश्वर : विगत पाँच दिनदेखि अविरल रूपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रूपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो ।
निरन्तरको चिसो कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर-७ का वीरेन्द्र शर्माले बताए । चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ । बाक्लो कुहिरोका कारण यातायातका कमै चल्न थालेका छन् ।
जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ । चिसोले हाट बजारमा चहलपहल घटेको छ । चिया व्यापार भने बढेको जलेश्वर नगरपालिका-१ का चिया पसले उमेश साहले बताए ।
चिसोकै कारण जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको चिकित्सकहरू बताउँछन् । जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी प्रभावित भएका छन् ।
चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको छ । जाडोबाट बच्न ठाउँठाउँमा स्थानीयले आगो बालेर घुर तापिरहेका छन् । जाडोकै कारण ग्रामीण भेगमा बस्तुभाउलाई समेत समस्या भएको जलेश्वर–१० का सहदेव मण्डलले बताए ।