काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनैपनि तलमाथि नहुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले काम गर्न बाधा पुर्याइ रहेको ११ वटा कानुनहरु संशोधनमा ल्याउने भनेर कानुनविद्हरुको सहभागितामा कार्यदल बनाए बताए ।
उनले भने, ‘काम गर्न बाधा पुर्याइरहेका ११ वटा कानुनहरुको पहिचान गरी संसदमा पेस गर्ने गरेर संशोधनमा ल्याउन र त्यसको तयारीको लागि पनि कानुनविद्हरु रहेको कार्यदल बनाएका छौं । त्यसकारण संविधान संशोधन हुन्छ । हाम्रो राजनीतिक सहमतिमा नै यही कुरा थियो । यसमा तलमाथि गर्ने कुनै पनि कुरा छैन ।’
यसको साथै, उनले नीतिगत रुपले संविधान संशोधनको विपक्षमा नभएको भन्दै त्यसको लागि कार्यदल बनाएर अगाडि बढेको बताए । उनले भने, ‘नीतिगत रुपले हामी संविधान संशोधनको विपक्षमा होइन । अस्ती भर्खर दुई दलको आठ सदस्य उच्च राजनीतिक संयन्त्रले पनि निर्देशन दिएको छ । संविधान संशोधन गर्न, संघीयता र संविधान कार्यान्वयनको समस्या पहिल्याउन, संसदमा अहिलेसम्म भइरहेको १९ वटा विधेयकहरु जुन बाँकी छन् त्यसलाई यही अधिवेशनबाट पारित गर्नको लागि के के गर्नु पर्छ भनेर कार्यदलहरु गठन भएको छ ।’