सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा मापदण्डविपरीत संचालित अटोहरूको नियन्त्रणमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले नगरपालिकासँग समन्वय गर्दै बजार क्षेत्रमा सञ्चालन भइरहेको अव्यवस्थित अटोहरूको चेकजाँच तीव्र पारेको हो । बिहीबार ट्राफिक प्रहरीको टोलीले लाइसेन्स, दर्ता र रुट परमिट बिना संचालन भइरहेका ५७ वटा अटोलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बिहीबार ट्राफिक प्रहरीको टोली परिचालन गरी मापदण्ड पूरा नगरी चलाएका ५७ अटोलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले नगरपालिकाको समन्वयमा मापदण्ड विपरीतका अटोलाई नियन्त्रणमा लिएर आवश्यक चेकजाँच गर्ने अभियान सञ्चालन गरेको जानकारी दिए ।
प्रहरी निरीक्षक सुनारले बढ्दो सवारी दुर्घटना, अव्यवस्थित पार्किङ र राज्यको सवारी ऐन विपरीत खुलेआम संचालन भइरहेका अटोहरूलाई नियन्त्रणमा लिने गरेको बताए । उनले अटो मात्र नभइ अन्य सवारी साधनहरूमा समेत कडाइका साथ चेकजाँच गर्ने गरेको बताए । 'बढ्दो सवारी दुर्घटना र अव्यवस्थित पार्किङका कारण हामीले यी अटोहरूलाई नियन्त्रणमा लिएका हौं,' सुनारले भने, 'अबदेखि यी अटोहरूको मापदण्डका अनुसारको चेकजाँच कडा रूपमा गरिनेछ ।'