काठमाण्डु : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारका सन्दर्भमा राजनीतिक सक्रियता बढाएका छन् । संविधान संशोधनको विषयलाई लिएर कांग्रेस र एमालेबीच खटपट सुरु भएको र नेताहरुले नै सत्ता–सहकार्यको भविष्यबारे टिप्पणी गर्न थालेपछि दाहालले सक्रियता बढाएका हुन् ।
अध्यक्ष दाहालले बिहीबार नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए । भेटमा संविधान संशोधनको विषयमा विपक्षी दलहरू एकजुट हुने भन्नेबारे छलफल भएको थियो । साथै समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा पनि दुई नेताबीच छलफल भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बेलामा अध्यक्ष नेपालको सक्रियतामा यी भेटवार्ता भएको बताइन्छ ।
त्यसै सन्दर्भमा शुक्रवार पनि दुई नेताबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित् माओवादीको संसदीय दलको कार्यालयमा भएको भेटमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए ।
उनी बाहिरिएपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मिसिएका थिए । भेटवार्तामा नेताहरूबीच भएको कुराकानी खुलाइएको छैन् । तर, सत्ता साझेदार दल कांग्रेस र एमालेमा खटपट पैदा भएको भन्ने हल्लाकै बीचमा यसरी विपक्षी दलका नेताहरू तारन्तार भेट्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीको अवसरमा आयोजित पार्टीको चियापान समारोहको निम्तो दिन लिङ्देनले प्रचण्ड र नेपाललाई भेट गरेका हुन् ।
तीन नेताको भेटपछि अध्यक्ष प्रचण्डले अप्राकृतिक ढंगले बनेको ओली सरकार अब नरहने प्रतिक्रिया दिएका छन् । तीन नेताको भेटपछि सिंहदरबारबाट बाहिरिने क्रममा यो सरकार फेल हुने बेला भइसकेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले भने, ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी छ भन्ने कुरा गम्भीर रूपले सदनमा भनेको सुन्नु भएकै छ, अप्राकृतिक भएकाले अब यो चल्दैन ।’
समाजवादीका अध्यक्ष नेपालले भने ओलीले ०८७ सालसम्म कार्यकाल लम्ब्याउने र चुनाव नगराउने खेल खेल्न सक्ने आशंका गरे । ‘०८७ सम्म बस्ने उहाँको चाहना होला । हेरौं, ०८७ सम्म चुनावै नगरिकन बस्ने हो कि ? त्यसलाई पनि मान्छेले प्रश्न उठाएका छन ्। संसद नै भंग गर्ने मान्छेहरू हुन्, अझै ठेलेको ठेलै गरेर अझै ६ बर्ष बसौला भन्ने सोच्नुभएको छ कि,’ उनले भने ।