रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा नागरिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा सुरक्षा व्यवस्थापन, प्रहरी सेवाको प्रभावकारिता र नागरिकहरूको गुनासो तथा सुझावहरू संकलन गर्न कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रहरीले नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै गुनासा सुनेको र सुधारको आवश्यकता भएका क्षेत्रहरू पहिचान गर्ने अवसर पाएको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताए ।
यसले नागरिक र प्रहरीबीचको सहकार्य बलियो बनाउने, विश्वासको वातावरण सिर्जना गर्ने र शान्ति सुरक्षामा पारदर्शिता कायम गर्न मद्दत पुग्ने विश्वास लिइएको गुप्ताको भनाइ छ ।
जिल्ला प्रहरी रौतहट कार्यालयका प्रमुख तथा अन्य अधिकारीहरूले नागरिकहरूको सहभागितामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि प्रहरी चौकीहरुमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सकारात्मक प्रभावले सुरक्षा व्यवस्थामा थप सुधार हुने अपेक्षा गरिएको छ ।