दोहा कतार : तेह्रथुम सेवा समाज कतारको चौथो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार आयोजित अधिवेशनमार्फत महेन्द्र प्रसाद उप्रेतीको नेतृत्वमा सर्वसहमतिमा नयाँ कार्यसमिति चयन भएको हो ।
प्रथम उपाध्यक्षमा लोक बहादुर जोगी, द्धितीय उपाध्यक्षमा अनिल रम्तेल, तृतीय उपाध्यक्षमा दुर्गा खत्री, महासचिवमा आरके घायल अधिकारी, सचिवद्वयमा बाबुराम आचार्य र अरुण तिगेला, कोषाध्यक्षमा निशा लिम्बू र सहकोषाध्यक्षमा खगेन्द्र जोगी चयन भएका छन् ।
यस्तै सदस्यहरूमा बिमन लिम्बू, धनबहादुर नेपाली, नवीन जोगी, धनवीर जोगी, पवित्रा जोगी, दुर्गामाया जोगी, सूर्य जोगी, प्रशान्त भण्डारी, लालबहादुर विष्ट र हिरालाल नेपाली रहेका छन् ।
अधिवेशनका प्रमुख अतिथि गैरआवासिय नेपाली संघ (एनआरएनए एनसीसी) कतारका अध्यक्ष रमेश भट्टले सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको नामावली घोषणा गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
समाजका अध्यक्ष सन्तोष खड्काको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि भट्टले कार्यक्रममा आसन ग्रहण गर्ने अनि भाषण गर्ने र हिँड्ने व्यक्तिहरूलाई स्थान दिनु समयको बर्बादी मात्र भएको भन्दै कार्यक्रमलाई खल्लो समेत बनाउने हुँदा आयोजक सचेत हुनुपर्ने बताए ।
भट्टले कार्यक्रममा सामाजिक सुरक्षाकोष, श्रम नवीकरण लगायतका विषयमा पनि बोल्ने खास वक्ताहरू आयोजकले राख्न सके कार्यक्रम थप फलदायी बन्ने र यसले सामाजिक चेतनाको स्तर वृद्धि हुने बताए । उनले समाजले राम्रा काम गरेको र नयाँ बन्ने कार्यसमितिले पनि एनसीसीसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गर्दै शुभकामना दिए ।
अधिवेशनमा साहित्यकारले आफ्ना रचना वाचन गरेका थिए भने विभिन्न कलाकारहरूले सांगितिक प्रस्तुती दिएका थिए । समाजका उपाध्यक्ष महेन्द्र उप्रेतीले संस्थागत कार्य तथा आर्थिक प्रगती विवरण पेस गर्दै कार्यकाल भरी ३६ हजार ६ सय ३७ रियालको कारोबार गरेको जानकारी दिए । उनले समाजले कार्यकाल भरी ३४ हजार ३ सय १ रियाल खर्चँदै २ हजार ३ सय ३६ रियाल समाजको कोषमा बचत रहेको जानकारी दिए । दुर्गा खत्रीले स्वागत मन्तव्य राखेको अधिवेशनलाई अनिल रम्तेलले सहजीकरण गरेका थिए ।
कतारमा स्थापित विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको कार्यक्रममा पत्रकार, कलाकार सामाजिक व्यक्तित्वसहित प्रमुख अतिथिलाई सम्मान गरिएको थियो । अधिवेशनको समापन गर्दै सभाध्यक्ष खड्काले आफूले सन् २०१६ मा संस्थालाई पुनर्गठन गर्दै नेतृत्व लिएसँगै आफू दोहोरिएर नेतृत्वमा रहेपनि विशुद्ध समाजसेवा बाहेक आफूसँग अर्को स्वार्थ नरहेको स्पष्ट पारे । उनले हलमा उपस्थित सबैलाई लाली गुराँसको जिल्ला तेह्रथुमको एक पटक भ्रमण गर्न आग्रह गर्दै अधिवेशनको समापन गरेका थिए ।