-माधव अधिकारी
नेपालमा सशस्त्र द्वन्द्वको अवधिमा मानव अधिकार उल्लघंनका घटनाका सम्बन्धमा अभिव्यक्ति दिनेमध्ये एक भारतीय अधिकारकर्मी अग्र पंक्तिमा थिइन् । उनले ज्यादतीमा संलग्न सरकारी तथा सुरक्षा अधिकारीको चर्को विरोध मात्र गरिनन्, तत्कालीन माओवादीका चरम हिंसात्मक गतिविधिलाई समेत उदाङ्गो पारिन् । पीडकलाई कानूनको कठघरामा ल्याउने र पीडितलाई न्याय दिने हेतलेु उनी प्रयासरत छिन् । उनी हुन् ह्युमन राइट्स वाचकी दक्षिण एसिया क्षेत्रीय निर्देशक मीनाक्षी गांगुली । उनी भारतमा रहेर नेपाललाई अत्यन्त सुक्ष्म र निकट रुपमा बुझेकी अधिकारकर्मी हुन् । उनी आवद्ध संस्था ह्युमन राइट्स वाचले विश्वका करिव १०० देशमा मानवअधिकार हनन्का घटनाको अनुसन्धान गर्छ ।
हाल विश्वव्यापी महामारीका रुपमा कोरोना भाइरस फैलिएको सन्दर्भमा नेपालमा आम नागरिकको मानव अधिकारको रक्षाका लागि उनले निरन्तर खबरदारी गरिरहेकी छिन् । हालै उनले कोरोना भाइरसको जोखिमबाट आफ्ना नागरिकलाई जोगाउन भन्दै नेपाल सरकारले आफ्ना नागरिकको स्वदेश फर्कन पाउने हक हनन् गर्न नमिल्ने बताएकी थिइन् । उनीद्वारा जारी वक्तव्यमा भारत, खाडी देशहरू र मलेसियामा नेपाली आप्रवासी कामदारहरू कठिन परिस्थितिमा रहेको उल्लेख गर्दै संस्थाले पर्याप्त क्वारेन्टाइनको व्यवस्थापन नहुँदा नेपालले आफ्ना नागरिकलाई स्वदेश फर्काउन खासै पहल नगरेको आरोप लगाइएको थियो ।
नेपालमा लकडाउनको अवस्था भएसँगै विदेशमा काम गरिरहेका तर रोजगारी गुमाएका नेपाली अलपत्र परेको भन्दै उनले नागरिकको आवश्यकतालाई सम्बोधन नगरी घर फर्कनबाट प्रतिबन्ध लगाइनुले आधारभूत मानवअधिकारको उल्लंघन भएको बताएकी थिइन् । साथै भारतीय भूमिमा रहेका नेपाली श्रमिकलाई भारत सरकारले सहयोग गर्न लागेको भन्दै स्वागत पनि गरेकी थिइन् । नेपालप्रतिको उनको प्रेम उनका वक्तव्यमा प्रतिबिम्वित हुन्छन् । गांगुलीले न्याय, गरिमा, करुणा र समानतको पक्षमा वकालत गर्दै आएकी छिन् । उनले विगतमा नेपालस्थित भुटानी शरणर्थीको हक हितका बारेमा पनि अनुसन्धान गरेकी थिइन् ।
नेपालले मानव अधिकारको बाटो छाड्नु हुँदैन भन्ने उनको विचार छ । नेपालमा राज्य पक्षबाट पत्रकारमाथि अनलाइन ठगि रोकथामका लागि तर्जुमा गरिएको विद्युतीय कारोबार ऐनको भाग ४७ को दुरुपयोग गरेर ज्यादती गर्ने गरेकोमा उनको आपत्ति छ । सरकारले विश्वसनीयता र विधिको शासनलाई नियतपूर्वक कटौती गरेको र दण्डहीनतालाई बढावा दिइरहेको उनको ठम्याई छ ।
अभिव्यक्ति स्वतन्त्रताका पक्षमा जोडदार आवाज उठाउने गांगुलीले धार्मिक तथा जातीय विभेद र यौन हिंसा विरुद्ध सशक्त आवाज उठाउँदै आएकी छिन् । महिला र बालबालिकामाथि हुने हिंसाका विषयमा उनले विशेष पैरवी गर्दै आएकी छिन् । भारतमा उनले गुजरातको साम्प्रदायिक दंगा, पञ्जावमा न्यायको अभाव, माओवादी प्रभावित सर्वसाधारण लगायतका विषयमा चासो राखेकी थिइन् । जम्मु, कश्मिर र मणिपुर क्षेत्रमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा उनको चासो थियो । उनले माओवादी संघर्षबाट प्रभावित व्यक्तिसहित भारतका कमजोर समुदायको सुरक्षा विफलता तथा मणिपुर एवं जम्मू र काश्मीरमा संघर्षसँग जोडिएका उत्पीडनमाथि शोध गरेकी छिन् । भारतको विदेश नीतिमा मानव अधिकार दृष्टिकोणको वकालत पनि गांगुलीले गरेकी छिन् । श्रीलंकामा युद्धको समाप्ति पश्चात् उनले श्रीलंकाली सेना र तमिल टाइगर्सका सदस्यलाई मानव अधिकारको हनन्मा जिम्मेवार ठहर्याइन् ।
भुटानमा बसोबास गर्ने नेपाली नागरिकमाथि गरिने भेदभावका विषयमा उनले अनुसन्धान गरेकी छिन् । उनले बंग्लादेशमा मानव अधिकार उल्लंघनको दस्तावेजीकरण पनि गरेकी छिन् । श्रम अधिकारको उचित संरक्षणमा जोड दिने गांगुलीले सशस्त्र संघर्षका दौरान बालबालिकाको सुरक्षा, एचआईभी एड्स संक्रमित व्यक्तिमाथि हुने भेदभाव, समलैंगिक पुरुषको अधिकार जस्ता मुद्दामा काम गरेकी छिन् । उनका लेख रचना विभिन्न समाचार पत्र, वेबसाइट र पत्र–पत्रिकामा प्रकाशित छन् ।
अत्यन्त सरल, सहज र मृदुभाषी गांगुलीले भारतको दिल्ली स्कुल अफ् इकोनोमिक्सबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन गरेकी छिन् । सन् २०१० मा ह्युमन राइट्स वाचको दक्षिण एसिया क्षेत्रीय निर्देशक पदमा नियुक्त हुनुअघि उनी सोही संस्थाको दक्षिण एसिया अनुसन्धाकर्ताका रुपमा कार्यरत थिइन् । ह्युमन राइट्स वाचमा आबद्ध हुनुअघि उनले टाइम म्यागेजिनमा दक्षिण एशिया संवाददाताको रुपमा कार्य गरेकी थिइन् । त्यसबेला उनको कार्य क्षेत्र अफगानिस्तान, पाकिस्तान, नेपाल, भारत, बांग्लादेश र श्रीलंका थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies