२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

ऐतिहासिक कालीथान मन्दिरको जीर्णोद्धारमा जोड

himalayanlife
२०८१ पुष २७ गते २०:३१
Shares
ऐतिहासिक कालीथान मन्दिरको जीर्णोद्धारमा जोड

नेपालगन्ज : नेपालगन्जको ऐतिहासिक कालीथान मन्दिरको जीर्णोद्धारमा जोड दिइएको छ । श्री कालीथान मन्दिर व्यवस्थापन समितिको २१ औं साधारण सभामा मन्दिर सबै वडावासीको आस्थाको केन्द्र र साझा सम्पदा भएकोले सबैको सहयोगको लागि आह्वान गरिएको छ ।  

साधारण सभामा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ का अध्यक्ष तरुण बज्राचार्यले यस क्षेत्रकै प्राचीन मन्दिर कालीथान मन्दिरको जीर्णोद्धार, संरक्षण सम्वद्र्धनमा वर्तमान समितिले समितिको स्थापना कालदेखि नै गर्दै आएको योगदान र प्रयासको सराहना गरेका थिए । 

स्थानीय नागरिक अगुवा समाजसेवी अजीत कुमार शर्माले मन्दिर व्यवस्थापन समितिले स्थापनादेखि हालसम्म मन्दिरको राम्रो कामको जेजति योगदान दियो, त्यसको प्रशंसा गर्दै यसअघिका पुजारी मदन आचार्यको दिवंगतपछि केही महिना अलि असहज परिस्थिति आइपरेता पनि हाल नयाँ पुजारीको नियुक्तीपछि नित्य पूजाआजा र धार्मिक गतिविधिहरु बढ्दै गएको बताए ।

सभाकी अध्यक्ष लता शर्माले १९७९ सालमा स्थापित कालीथान मन्दिरका संस्थापक स्वर्गीय राजमान श्रेष्ठ र उनका छोरा कृष्णमान श्रेष्ठ, व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्व.शंकर प्रसाद रिमाल, पूर्वअध्यक्ष भानुभक्त मुडभरी लगायत मन्दिरका दुई जना स्वर्गीय पुजारीहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मन्दिरको ऐतिहासिक पृष्ठभूमिका बारेमा चर्चा गरिन् । भक्तजनहरुले मन्दिरलाई जीर्णोद्धार गर्ने, धार्मिक कार्यक्रम र पूजाआजा व्यवस्थित रुपमा सञ्चालन गर्ने उद्देश्यले २०५८ चैत्र २४ गते सम्पन्न भेलाले कार्यसमिति गठन गरेर २०५९ जेठ २७ गते शंकर प्रसाद रिमालको अध्यक्षता समिति गठन गरी जिल्ला प्रशासन कार्यालय, बाँकेमा संघसंस्था ऐन अन्तर्गत २०५९ असोज ३ गते दर्ता गरिएको सो अवसरमा जानकारी दिइएको थियो । 

समितिले मन्दिरले चर्चेको जमिन सम्बन्धित जग्गाधनीबाट मन्दिरको नाममा दर्ता गर्ने काम, शान्ति मन्त्रालय, तत्कालीन जिल्ला विकास समिति, नेपालगन्ज नगरपालिका र थुप्रै दाताहरुको सहयोगमा जिर्णोद्धार गर्ने, निर्माण विकास गर्ने, बाटो बनाउने, कम्पाउण्ड वाल निर्माण लगायतका थुप्रै काम गरेको अध्यक्ष शर्माले उल्लेख गरिन् । समितिले नियुक्त गरेको पुजारी मदन आचार्यको निधनपछि रिक्त रहेको पुजारी पदमा २०८१ असार असार २२ गते बसेको समिति र कालीमाई टोलस्तरीय संस्थाको संयुक्त बैठकको निर्णय अनुसार पं.विष्णुप्रसाद न्यौपानेलाई नियुक्त गरेर मन्दिरमा पूर्ववत् रुपमा नित्य पूजा र धार्मिक गतिविधिहरु सुचारु भइरहेको पनि उनले जानकारी गराए । 

करिब ५० जना स्थानीय बासिन्दाहरुको सहभागिता रहेको सभाको पहिलो सत्रमा वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

यस्तै साधारण सभाले गोविन्द नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष पदमा हौसीलाल चिडीमार, सचिवमा वीरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष पदमा सरिता श्रेष्ठ रहेकी छन् भने सदस्यहरुमा वडा नं. १२ का सदस्य राजकुमार बाल्मिकी, श्याम सुन्दर अधिकारी, माधवप्रसाद पोखरेल, राजीव रेग्मी, विशाल गुप्ता र मीना वर्मा रहेकी छन् ।

त्यसैगरी संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ का अध्यक्ष तरुण बज्राचार्यलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा अजीत कुमार शर्मा, लता शर्मा, श्यामबहादुर मल्ल, चतुर्भूज ज्ञवाली रहेका छन् । निवर्तमान समितिका सचिव पूर्णलाल चुकेले सञ्चालन गरेको उक्त साधारण सभाको अन्त्यमा व्यवस्थापन समितिको नयाँ कार्यसमितिका अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष शर्माले निर्णय पुस्तिका, अन्य महत्वपूर्ण कागजातहरु तथा जिन्सी सामानहरु हस्तान्तरण गरेका थिए भने प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ का अध्यक्ष तरुण बज्राचार्यले नयाँ पदाधिकारीहरुलाई टिका लगाएर बधाइ ज्ञापन गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर