वीरगन्जमा : आम जनता पार्टी (आजपा)ले वीरगन्जमा शक्ति प्रदर्शन गरेको छ । आजपाले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचारविरुद्ध बृहत् सभा गरिएको जनाएको छ ।
सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरे । वीरगन्जको इतिहास, गौरब र सम्मान शासक वर्गले मेट्न खोजेको आरोप लगाउँदै उनले यथाशिघ्र वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्न माग गरे ।
‘शासक वर्गले वीरगन्जको इतिहास, गौरब, सम्मान मेट्न खोजिरहेका छन् । वीरगन्ज उनीहरुका लागि दुहुना गाई जस्तै भएको छ, यहाँबाट राजस्व मात्रै लिने तर वीरगन्जको विकासमा योगदान नगर्ने काम भइरहेको छ’, आजपा अध्यक्ष साहले भने,‘हामीले वीरगन्जलाई जसरी पनि देशको आर्थिक राजधानी घोषणा गराउँछौं । वीरगन्जले जति मुलुकलाई राजस्व बुझाउँछ, सोही अनुपातमा वीरगन्जमा विकास भएको छैन् । वीरगन्जको चौतर्फी विकासका लागि आजपाले जस्तोसुकै कदम चाल्न बाध्य हुन्छ ।’
काठमाडौं देशको प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर वीरगन्ज आर्थिक राजधानी किन नहुने भन्दै साहले प्रश्न गरे । उनले भने, ‘सबैभन्दा बढी राजस्व बुझाउने वीरगन्ज, बढी उद्योग व्यवसाय हुने यही बारा, पर्सा हो । यहाँको उद्योगी व्यापारीले तिरेको राजस्वबाट मुलुक चल्ने तर वीरगन्ज आर्थिक राजधानी किन नहुने ? यथाशिघ्र वीरगन्जलाई आर्थिक राजधानी घोषणा नगरिए आजपा चुप लागेर बस्दैन । प्रभु साह चुप लागेर बस्दैन ।’
हालै मधेश प्रदेशमा भ्रष्टाचारविरुद्ध मधेश यात्रा अभियान सम्पन्न गरेको आजपाले सरकारकै संरक्षण एवं मिलोमतोमै भ्रष्टाचार बढ्दै गइरहेको जनाएको छ । वीरगन्जको घण्टाघरमा आयोजित बृहत् सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सरकारकै संरक्षण र मिलेमतोमा राज्यको हरेक क्षेत्रमा भ्रष्टाचार बढेको गम्भीर आरोप लगाए ।
‘सरकार आफै भ्रष्टाचारीलाई संरक्षण गरेको छ । भ्रष्टाचारी जोगाउने, बचाउने, संरक्षण गर्ने यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन् । भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको प्रधानमन्त्री केपी ओलीको सरकारले भ्रष्टाचारी जोगाउने काम गरेको छ’ आजपा अध्यक्ष साहले भने, ‘विभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिन्छ । तर त्यो काण्डको बारेमा कहिल्यै छानबिन हँुदैन । विभिन्न ठूलाकाण्डको फाइल सरकारले लुकाएर राखेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भ्रष्टाचारमै संलग्न छन् । यि लुटेराहरुले देशलाई लुटेर कंगाल बनाइसके, राज्यको ढुकुटी लुटेका छन्, विदेशमा पैसा थुपारेका छन् । यिनीहरुबाट देश समृद्ध हुँदैन् ।’
देशको राजस्व लुटेर खाने, राज्यको ढुकुटी लुट्नेहरुले हरेक नेपालीमाथि विदेशी ऋण बढाउँदै गइरहेका छन् । विदेशीबाट ऋण लिने तर त्यसको सही सदुपयोग नगरी नेपालीलाई ऋणी बनाउने काम यो सरकारले गरिरहेको आरोप साहको छ ।
आजपाका पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा भएको सभामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, नेताहरु राजन यादव, सियाराम कुशवाहा, उमेश कुशवाहा, विजय यादव निर्विज, रामशरण यादव लगायतको सहभागिता रहेको थियो ।