कपिलवस्तु : कपिलवस्तु कृष्णनगर नगरपालिकाले सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरेको छ । सुशासन, पारदर्शिता र जवाफदेहिताको उद्देश्यसहित आयोजित कार्यक्रमले स्थानीय जनतालाई आफ्ना समस्याहरू प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।
शिवराज मिडिया कृष्णनगर र नेपाल पत्रकार महासंघ कपिलवस्तुको सहकार्यमा सम्पन्न कार्यक्रममा स्थानीय जनता, सरकारी कर्मचारी, जनप्रतिनिधिहरू र विभिन्न क्षेत्रका विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा मेयर रजत प्रताप शाह, उपमेयर आरती चौधरी, वडा अध्यक्षहरू, कर्मचारीहरू, र विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो ।
जनताले सडक निर्माण, नाली सफाइ, प्रत्येक खम्बामा बत्तीको व्यवस्था, कृषि अनुदान र फोहोर व्यवस्थापनजस्ता समस्याहरू खुला रूपमा प्रस्तुत गरेका थिए । मेयर रजत प्रताप शाहले जनताका मागहरूप्रति संवेदनशीलता व्यक्त गर्दै ती समस्याहरू छिटो समाधान गरिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मौलाना मशहुद खां नेपालीले मुस्लिम समुदायका समस्या निर्भीकताका साथ उठाउँदै शिक्षा, स्वास्थ्य, र रोजगारीजस्ता क्षेत्रमा सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘कृष्णनगरमा ७० हजार १ सय ११ जनसंख्या छ, जसमा मुस्लिम समुदायको जनसंख्या १७ हजार ५१६ छ । तर, सरकारले मुस्लिम समुदायलाई अन्य समुदायसरह प्राथमिकता दिएको छैन । शिक्षा, स्वास्थ्य, र रोजगारीका क्षेत्रमा ध्यान नदिँदा समुदाय पछाडि परेको छ । सरकारले समुदायको आवश्यकता अनुसार विकास योजना ल्याउनुपर्छ ।’
यस्तै उनले मुस्लिम समुदायका लागि जनसंख्याका अनुपातमा बजेटको व्यवस्था गर्न, गुणस्तरीय शिक्षा, स्वास्थ्य, र रोजगारीका अवसरहरू प्रदान गर्न माग गरेका थिए ।
सार्वजनिक सुनवाइले जनप्रतिनिधि र जनताबीचको सम्बन्ध सुधार्न र समस्याहरूको व्यावहारिक समाधान खोज्न महत्वपूर्ण भूमिका खेलेको नगरपालिकाले जनाएको छ ।