कालीकोट : कालीकोटको रास्कोट नगरपालिकाको १५औं हिउँदे अधिवेशन सम्पन्न भएको छ । 'हामी बनाउँछौं हाम्रो नगर' भन्ने मूल नाराका साथ नगरपालिकाको हिउँदे अधिवेशन शनिबार सम्पन्न भएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख धर्मराज शाही पोषणले संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र रहेर हिउँदे अधिवेशन सम्पन्न गरिएको बताए । अहिलेसम्मका कामहरुको सबै क्षेत्रबाट प्रशंसा भएकाले उत्कृष्ट काम गरेर देखाउन सभामा उपस्थित सदस्यहरुलाई नगर प्रमुख शाहीले आग्रह गरे । उनले सभामा उपस्थित सबैलाई सामूहिक रुपमा विकासका काममा सहयोग गर्न समेत आग्रह गरे ।
कतिपय कामहरु पूरा भएको र कतिपय विकास निमार्णका कार्यहरु प्रक्रियागत रुपमा रहेको बताउँदै नगरप्रमुख शाहीले स्थानीय समस्या समाधानका लागि सहकार्य समन्वयलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने र रास्कोटलाई सुशासनको प्रत्याभूति दिलाउने लक्ष्य रहेको बताए ।
नगर उपप्रमुख मनिराज बरालले पालिकाको सेवा प्रवाह सुधार, नागरिक सहभागिता वृद्धि र पारदर्शिता कायम गरिने प्रतिबद्धता जनाए ।
नगरपालिकाको सभाहलमा आयोजित उक्त अधिवेशनमा रास्कोट नगरपालिकाका प्रमुख शाही,उपप्रमुख बराल, प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम, कार्यपालिका सदस्य, वडाध्यक्ष, नगरस्तरीय कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।