काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान काठमाडौँ जिल्ला अदालतमा सुरु भएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा जिल्ला अदालतमा आफैँ हाजिर भएका उनको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास बयान सुरु भएको हो ।
बयानका लागि उनी बिहान ९ बजे नै अदालमा उपस्थित भएका थिए । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौँ आइपुगेका रवि भोलिपल्ट जिल्ला अदालत हाजिर भएका हुन् ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा पनि मुद्दा दर्ताको तयारी भइरहेको छ ।