दोहा कतार : मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व माघ्या सकराटी (मिनाम सार ल्हेस) ५०१८ कतारमा यस वर्ष पनि मनाइने भएको छ । कतारमा रहेका मगरहरूको साझा सामुदायिक संस्था नेपाल मगर संघ, शाखा कतारको आयोजनामा आउँदो शुक्रबार विविध सांस्कृतिक प्रस्तुतिसहित सकराटी मनाउन लागिएको संघले जनाएको छ । सकराटीलाइ थप संगीतमय बनाउन नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर आउने भएकी छन् ।
गायिका लामिछानेसँगै नेपाल मगर सांस्कृतिक परिवारका कलाकारहरू र नेपाल आदिवासी जनजाति महासंघ कतारको मातहतमा रहेका विभिन्न मातृ संस्थाहरूको जातियता झल्काउने सामूहिक सांगीतिक प्रस्तुति पनि कार्यक्रममा रहने संयोजक कुमार राहादी मगरले मध्यान्ह दैनिकलाई जानकारी दिए । कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुराइएको र गायिका लामिछाने मगरको आगमनसँगै तयारी पूरा हुने संघका अध्यक्ष रेसम आले मगरले जानकारी दिए ।
अबु हमुरस्थित आइडिएल इन्डिएन स्कुलमा बिहान १० बाजेदेखि हुने कार्यक्रममा सहभागी हुन इच्छुकहरूका लागि आयोजकले कतारका विभिन्न स्थलहरूबाट निःशुल्क यातायातको व्यवस्था गरेको छ । यातायातको रुट को जानकारीका लागि यातायात संयोजक मोतीलाल बुढा मगर ३०१३९०८७ र सह संयोजक नेत्र थापा मगर ३३८५८५६५ लाई सम्पर्क गर्न संघले अनुरोध गरेको छ ।