कपिलवस्तु : कपिलवस्तुको दक्षिण–पश्चिमी सीमाना अवस्थित कृष्णनगर क्षेत्रमा तस्करीको समस्या दिनानुदिन बढ्दै गएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मौन समर्थनका कारण तस्करीलाई थप प्रोत्साहन मिलेको आरोप लाग्ने गरेको छ ।
सीमावर्ती क्षेत्र सिर्सिहवा, ठकुरापुर, कृष्णनगरबाट लहसुन र पापकान, जस्ता कृषि उपजहरू तथा कबाड नेपालबाट भारततर्फ मोटरसाइकल, पिकअपमा तस्करी भइरहेको छ ।
त्यसैगरी, भारतबाट मोटर पार्ट, मोविल, पेन्ट, चिनी, कपडा, जुत्ता–चप्पलजस्ता सामानहरूको ठूलो परिमाणमा तस्करी हुने गरेको छ । तस्करीको कारणले सीमावर्ती क्षेत्रका व्यापारीहरू गम्भीर समस्यामा परेका छन् । स्थानीय उद्योगीहरूले उद्योग व्यापार बन्द गर्ने अवस्था आएको बताउँदै तस्करी रोक्नका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् ।
तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षा निकायहरूले आवश्यक कदम चाल्न नसक्दा तस्करहरूको मनोबल उच्च रहेको छ । यसले गर्दा कानुनी शासनको कार्यान्वयनमा गम्भीर प्रश्न उठेको छ ।
यस क्षेत्रका स्थानीयहरू र व्यवसायीहरूले तस्करी नियन्त्रणमा सरकार र सुरक्षा निकायहरूको जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न जोडदार अपिल गरेका छन् ।