दाङ : माघे संक्रान्ति पर्वको अवसरमा दाङको रिहार बगार बाबा धाममा मंगलबार बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ । विशेषगरी भारतबाट माघे संक्रान्तिकै दिन स्नान गर्न खिचडी खानका लागि लाखौँ तिर्थालुहरू आउने गर्दछन् ।
बगार बाबा धार्मिक विकास क्षेत्र रिहार धाममा तिर्थालुको अत्यधिक घुँइचो हुन्छ । धाममा रहेको तप्तकुण्डमा स्नान गरेपछि छाला सम्बन्धी रोग निको हुनेविश्वासका साथ महिला, पुरुष तथा बालबालिकाहरू स्नान गर्छन् ।
लमही नगरपालिका वडानम्वर–९ रिहारस्थित मेलामा ८० प्रतिशत भक्तजन भारतका विभिन्न स्थानबाट आउने गरेको बगार बाबा धार्मिक विकास क्षेत्रका अध्यक्ष रविन्द्र खत्रीले जानकारी दिए । हजारौं हजार वर्ष पुरानो इतिहास भएको द्वापरयुगमा ऋषिमुनिहरूले बिहार गरेको हुँदा यो ठाउँको नाम ऋषिबिहारबाट रिहार रहन गएको धार्मिक विश्वास रहेको खत्रीले बताए ।
खत्रीका अनुसार रिहारमा द्वापरयुगमा ग्वालाहरुले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको किम्बदन्ती छ । धाममा रहेको तप्तकुण्डमा नुहाएपछि शिव मन्दिरमा दूध चढाउने गर्छन् । त्यसपश्चात तप्तकुण्डको पानीले खिचडी पकाएर खाने गर्दछन् । धर्मात्मा मान्छेले पकाएको खिचडी छिटो र स्वादिष्ट पाक्ने, अधर्मी मानिसले पकाएको खिचडी नपाक्ने विश्वास छ । पुस मसान्तको अन्तिम र माघे संक्रान्तिको दिनभर ठूलो मेला लाग्ने गर्दछ ।
रिहार धाममा भैने पर्शु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता धार्मिक संरचना छन् । धार्मिक आस्थाको केन्द्र रिहारमा बगारबाबाको पूजा गर्दा बगारबाबा खुसी भएमा सन्तान र सम्पत्ति प्राप्त हुने धार्मिक विश्वास रहेको खत्रीको भनाइ छ ।
त्यस्तै मेलामा युवाहरुका बीचमा ढुंगो बोक्ने अनौठो चलन छ । मेलामा तिर्थालुहरूको बगार बाबा ढुंगो उचालेर बगार बाबा मन्दिरको परिक्रमा गरेपछि चिताएका कुरा पूरा हुने धार्मिक विश्वास छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रिहार नेपाल सरकारले बगरबाबा धार्मिक पर्यटकीय स्थललाई एकसय नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ ।