काठमाडौँ : स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । थुनछेक बहसको लागी प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौँ जिल्ला अदालत हाजिर भएका थिए ।
न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बुधवार लामिछाने तर्फका कानुन व्यवसायीले बहस गर्दै छन् । उनको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएका छन् ।
पूर्वगृहमन्त्री लामिछानेलाई भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।
लामिछानेमाथि गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रवि विरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ ।