काठमाडौं : काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि गरिरहेको व्यवहार चिन्ताजनक र दुर्भाग्यपूर्ण रहेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन् ।
मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालयले बुधवार विज्ञप्ति जारी गर्दै महानगर निश्चित भूगोल, क्षेत्र र समुदायमा व्यक्तिको बहुसंख्यक सहभागिता रहेको भन्ने दुराग्रहबाट प्रेरित देखिएको बताएको हो । काठमाडौं महानगरले नागरिकबीच बिग्रह, बेमेल र असन्तुष्टि उत्पन्न गराई अनावश्यक द्वन्द्वको बीजारोपण गरेको मुख्यमन्त्री सिंहको आरोप छ ।
‘विधि तथा प्रक्रियाअनुसार सम्बन्धित सरकारी निकायमा दर्ता गरी करसमेत तिर्ने दायित्व निर्वाह गर्दै आएका कबाड व्यवसायी र यस व्यवसायमा आश्रित करिब एक लाख श्रमिकलाई रोजगारविहीन बनाउने गरी महानगरपालिकाले गरेको भनिएको सो व्यवहार चिन्ताजनक र दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ ।
महानगरपालिकाले कबाड व्यवसायका कारण वातावरणमा प्रतिकूल असर परेको, आगलागीका घटना बढेको र चोरीका घटनामा वृद्धि भएकोभन्दै कवाड व्यवासाय हटाउन खोजिरहेको छ ।
मधेश सरकारले कवाड व्यवासायलाई हटाउने महानगरको कार्यलाई गैरकानुनी भनेको छ । मुख्यमन्त्री सिंहले कबाड व्यवसायीको सम्मान, मर्यादा र जीविकोपार्जनप्रति सदाशयता प्रकट गर्दै सरल तथा सहज ढंगले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन गृह मन्त्रालयको ध्यानाकार्षण गराएको छ ।