कालीकोट : कालीकोटको रास्कोट नगरपालिकामा प्रशासनिक भवनको शिलान्यास गरिएको छ । बुधबार नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बराल र नेकपा (एमाले) नगर कमिटी अध्यक्ष कालिबहादुर शाहीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।
इलाका प्रशासन कार्यालय स्थापनापछि नागरिकलाई आधुनिक र सहज सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । स्थानीय प्रशासनका सेवाहरू प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिने यो भवनले रास्कोट नगरपालिका र छिमेकी पालिकाका बासिन्दालाई प्रत्यक्ष लाभ पुर्याउने छ ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख शाहीले भवन निर्माण कार्य समय सीमाभित्र सम्पन्न गरी नागरिकलाई सरल, छिटो, र प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाए । नगर उपप्रमुख बरालले भवनले कार्यालयका विभिन्न सेवा कक्ष, अभिलेख कक्ष, र नागरिकमैत्री सेवा क्षेत्र समेट्ने जानकारी दिए ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेत(डोली प्रादेशिक कार्यालयहरू) र रास्कोट नगरपालिकाको करिब ३ करोड ३० लाखको साझा लगानीमा भवन निर्माण हुनेछ । भवन निर्माणको जिम्मा सुवास, भावना, निशान जे.भि निर्माण सेवाले पाएको छ ।
स्थानीय नागरिकहरूले यो भवन निर्माणले प्रशासनिक सेवा छिटो र प्रभावकारी बनाउनेमा विश्वास व्यक्त गरेका छन् । भवन निर्माण कार्यले समग्र क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।