रौतहट : रौतहटको बौद्धिमाई नगरपालिकाका मेयर प्रदीप यादवविरुद्ध नाराजुलुससहित प्रदर्शन गरिएको छ । बौद्धिमाई नगरपालिकाको बंकुल बजारस्थित कार्यालय अगाडि पार्टीले मेयरकोविरुद्ध नारा लगाउँदै स्थानीयले कार्यालय घेराउ समेत गरेका छन् ।
‘भ्रष्टाचारी मेयर मुर्दावाद, भ्रष्टाचारीलाई कारबाही गर, दोषीलाई कारबाही गर’ लगायतका नारा लगाउँदै उनीहरुले मेयरको कार्यशैलीको विरोध गरेका छन् । मापदण्ड नबनाइ मनोमानी रुपमा मेयर यादवले विपक्षीको घर भत्काउने र सडक विस्तारको नाममा दुःख दिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । स्थानीय अगुवा एवं पूर्व वडाध्यक्ष श्रीभगवान पटेलले मापदण्ड बनाएर सडक विस्तार गर्नुको साटो मेयरले मनोमानी रुपमा विपक्षीको घर भत्काउने र दुःख दिने गरेको आरोप लगाए ।
‘मेयर आफैले लट्ठी लिएर स्थानीयलाई कुटपिट गरे, घरमा तोडफोड गरेकाले मेयरलाई कारवाही हुनुपर्छ,’ पटेलले भने ।
मेयर यादवको मनोमानी कार्यको विरोध गरेकै कारण स्थानीय गंगाराम बैठकलाई रौतहट अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेपछि मेयरले मेरो मुठीमा न्यायाधीश, प्रहरी, प्रशासन रहेको भन्दै मान्छेलाई धम्क्याउने गरेको स्थानीय पटेलले बताए ।
यस्तै आन्दोलनकारीले मेयर यादवले विभिन्न आयोजनामा गरेको भ्रष्टाचारको छानबिन हुनुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने लगायतका माग समेत गरेका छन् ।
सो अवसरमा जनता समाजवादी पार्टी नेपालका महासचिव त्रिभुवन साहले न्यायाधीश मेरो मुठीमा रहेका भन्दै हिँडिरहेका मेयर यादवलाई छानबिन गरी कानुनी दायरमा ल्याउन माग गरे ।
यसैबीच नगरप्रमुख यादवले प्रभु साहको नीतिगत भ्रष्टाचार एवं अपराधिक कार्यका कारण रौतहट क्षेत्र नम्वर ३ अहिले आक्रान्त बनेको गम्भीर आरोप लगाएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत नगरप्रमुख यादवले विकास निर्माणको कार्य गर्ने क्रममा सार्वजनिक बाटो अतिक्रमण गरेर बनाइएका भौतिक संरचनालाई हटाउन पटक–पटक सूचना जारी गर्दै माइकिङ लगायतको प्रक्रियाहरु अपनाएको बताए । उनले वडा नम्बर ८ मा नाला निर्माण गर्न ठेक्का बन्दोबस्त गरेपनि निर्माण कार्यमा अवरोध पुर्याउँदा समेत नमान्दा स्थानीय सरकार संचालन ऐन २०७४ को ४५–३ मा दिएको ऐन अधिकार प्रयोग गरेर अघि बढ्दा राष्ट्र सेवक कर्मचारी एवं जनप्रतिनिधिमाथि सांघातिक आक्रमण भएको बताए ।