२०८१ माघ ३ गते बिहिवार / Jan 16 , 2025 , Thursday
२०८१ माघ ३ गते बिहिवार
Ads

हराए ‘पोखराको सम्झना’

hardik ivf
मध्यान्ह
२०८१ माघ ३ गते १५:०६
हराए ‘पोखराको सम्झना’

पोखरा : पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरू केबल मनोरञ्जनका लागि मात्र नभई आफ्नो यात्राको स्मरणका लागि विशेष उपहार खोज्ने गर्छन् ।

त्यस्तै पोखराको स्मरणीय उत्पादनमध्ये कुनै समय हातेतानबाट तयार गरिएको गलैँचा प्रख्यात थियो । यद्यपि, समयसँगै बढ्दो आयतित सामग्री र बजार व्यवस्थापनको अभावले आफ्नो मौलिकता बोकेको गलैँचाको बजार भने साँघुरिदै गएको छ ।

पोखरा महानगरपालिका–२ मोहरिया टोलका पसलहरुमा कुनै समय हातेतानबाट तयार गरिएका गलैँचाहरु प्रशस्त देखिन्थे तर अहिले एकाध पसल मात्र भेटिन्छन् । मोहोरिया टोलमा उमेरले झण्डै ८० पुग्न लागेको बताउने जग्गेलक्ष्मी जोशी पाँच दशकदेखि गलैँचा व्यवसायबाट गर्दै आएको बताइन् । ‘झण्डै ५० वर्ष भयो मेरो नन्दले यो व्यवसाय गर्नुहुन्थ्यो, अहिले हामीले पनि निरन्तरता दिएका छौँ।’

उनले भनिन्, ‘दिनदिन व्यापार नभए पनि भएको दिन राम्रै हुन्छ, छोराले गलैँचा ल्याइदिन्छ, म बसेर बेच्छु, सन्तुष्ट छौँ।’ उनका छोरा मधुसुदन जोशी भने अन्यत्र कम्प्युटर क्षेत्रमा जागिर गर्छन् । जग्गेलक्ष्मीले परम्परागत महत्व बुझ्ने मौलिक सामग्री उपहार चाहानेहरुले अझै पनि पोखराको सम्झना लेखिएका स्थानीय गलैँचालाई विशेष उपहारको रुपमा लाने गरेको बताइन् ।

‘कहिलेकाहीँ १५/२० दिनमा बल्ल एउटा व्यापार हुन्छ भने कहिले राम्रै व्यापार हुन्छ’ जोशीले भनिन् । विशेषगरी अमेरिका जापान, जर्मन, थाइल्याण्ड, अष्ट्रेलिया, बु्रनाइ, हङकङतिर र गुरुङ, मगर समुदायले अझ बढी उपहारको रुपमा लाने गरेको उनको भनाइ छ ।

पुरानो डिजाइन घरका ढोकाहरुमा झुण्डाइएका गलैँचामा विदेशी पर्यटकको पनि नजर पर्ने गर्छ र उनीहरुले पनि खरिद गर्छन । पसलमा चार सयदेखि चार हजारसम्मका साना ठुला साइजका गलैँचा छन्।

‘पोखराको सम्झना’ लेखिएका गलैँचा प्रायः घरका भूँइमा देखिन्थे तर अहिले विस्तारै विस्थापित हुँदै गएको बताउँछन् पोखरा उद्योग वाणिज्य सङ्घको पूर्वअध्यक्ष आनन्दराज मुल्मी । ‘यो उत्पादन मात्र थिएन, यसभित्र परम्परा र संस्कृति पनि थियो, महिलाको आर्थिक सशक्तीकरणको आधार थियो, सांस्कृतिक संरक्षण, र रोजगारीको माध्यम पनि थियो।’

मुल्मीले पछिल्लो समय यसको बजार साँघुरिदै गएको र यदाकदा मात्र देखिने गरेको बताए । उनले समयक्रमसँगै आधुनिक गलैँचाले गर्दा परम्परागत मौलिक गलैँचा भेटिन गाह्रो हुन थालेको बताइन् ।

पछिल्लो समय यसको बजार साँघुरिदै गएको र यदाकदा मात्र देखिने गरेको बताए । उनले समयक्रमसँगै आधुनिक गलैँचाले गर्दा परम्परागत मौलिक गलैँचा भेटिन गाह्रो हुन थालेको छ ।

मुल्मीका अनुसार नेपाली गलैँचाको इतिहास हिमाली भेगका नागरिक र तिब्बती शरणार्थीको आगमनसँग जोडिएको छ । हिमाली भेगमा पाइने भेडाको ऊनबाट उत्पादन हुने धागो गलैँचा बनाउने मुख्य सामग्री हो । यो परम्परा तिब्बतसँग जोडिएको छ, जहाँ शरणार्थी महिलाहरूले आफ्नो परम्परागत सीपलाई पोखरामा भित्रयाए।

शरणार्थी बस्तीसँग जोडिएको गलैँचा उद्योगले स्थानीय महिलालाई रोजगारीका अवसर सिर्जना गर्‍यो । तिब्बती डिजाइनलाई नेपालको मौलिक डिजाइन र सांस्कृतिक झल्को दिएर रूपान्तरण गरियो ।

सन् १९५९ मा तिब्बतबाट शरणार्थीका रूपमा नेपाल प्रवेश गरेका तिब्बती महिलाहरूले पहिलोपटक हातेतानमा गलैँचाहरू उत्पादन गर्न थाले। उनीहरूको सीपलाई अझ सशक्त बनाउन स्वीस सरकारले सन् १९६० को दशकमा सहयोग गर्‍यो। स्वीस सरकारको परियोजनाले उनीहरूलाई गलैँचा तान्ने प्राविधिक तालिम, गुणस्तर सुधारका उपाय र अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने तरिकाहरू सिकायो।

गलैँचा उत्पादनबाट तिब्बती शरणार्थी उत्साहित भए नेपाली मौलिकतासँग जोडिएर उत्पादन गर्न थाले । स्विस सरकारले यसलाई थप बिस्तार गर्दै काठमाडौँ जावलाखेलको एकान्तकुनामा गलैँचा उद्योग नै स्थापना गरेर र उत्पादनलाई बजारीकरणमा पनि सहयोग गर्‍यो ।

उनले नेपाली गलैँचाले अन्तर्राष्ट्रिय बजारमा नेपालको हस्तकलाको पहिचान दिलाउन पनि भूमिका खेलेको बताए । हाते गलैँचाहरू ऊन, प्राकृतिक रङ र नेपाली मौलिक परम्परागत डिजाइनबाट निर्माण हुने र नेपाली संस्कृति, हिमालको जनजीवनको झल्को पाइने भएकाले पनि पर्यटकलाई आकर्षित गर्नुका साथै, नेपालको सम्झना बोक्ने कोसेली बन्ने सम्भावना रहेको उनको भनाइ छ।

‘हिमाली भेगका बासिन्दा राडी, पाखी बुनेर प्रयोग गर्थे, व्यापारिक उद्देश्यले तिब्बत नून लिन जाने क्रममा नेपालीले त्यहाँबाट गलैँचा बुन्ने सीप भित्र्याएसँगै यसको मौलिकपन पाएको बताउँछिन्, नेपाल घरेलु तथा साना उद्योग महासङ्घकी केन्द्रीय उपाध्यक्ष एवम हिमालय डेकोर रग्सका सञ्चालक शोभा गुरुङ। उनले नेपाली हाते गलैँचा ऐतिहासिक महत्व र यी गलैँचाहरू मौलिक ढाँचाका, प्राकृतिक रङबाट सुसज्जित र टिकाउ हुने गरेको बताइन् ।

गुरुङका अनुसार, सन् १९६० पछि स्वीस सरकारले नेपाली गलैँचा उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहयोग गर्‍यो र जर्मनी, बेल्जियममा निर्यात हुन थाल्यो । गलैँचा उत्पादनमा बलियो नटिङ प्रणाली थियो । यसले अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट स्थान बनायो।

सुरूवातमा हिमाली भेगका थकाली महिला र तिब्बती शरणार्थीहरूले मात्रै गलैँचा बनाउँथे, पछि अन्य समुदायले पनि यो पेसा अँगाले । सन् १९९० को दशकमा गलैँचा उद्योगमा अस्वस्थ प्रतिस्पर्धा बढ्यो। कमसल कच्चा पदार्थको प्रयोग हुन थालेपछि गलैँचाको बजार खस्कँदै गयो । त्यति नै बेला गलैँचा उद्योगमा बाल मजदूरको प्रयोग भएको कुरा युरोपियन युनियनले उठायो । यसले गलैँचाको फस्टाउँदा बजार स्वात्तै झर्‍यो । युरोपेली मुलुकले बाल मजदूरको प्रयोग गरेको भन्दै नेपाली गलैँचामा प्रतिबन्ध लगाएपछि यो उद्योग नराम्ररी संकटमा पर्‍यो।

‘वालश्रममुक्त’ उद्योग भनेर लेबल लगाएर मात्र उद्योग सञ्चालनमा आउन थाले । तर नेपालमा अहिले पहिलाको जस्तो विशुद्ध हातबाट बनाइएका प्रशोधित गरिएका गलैँचा उत्पादन हुन छाडेको गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘पहिल्यै प्राकृतिक, अर्गानिकरूपमा बनेका गलैँचाहरूको स्थान अब केमिकलयुक्त रङ् र मेशिनको उत्पादनले लिएको छ।’

नेपालमा परम्परागत मौलिक गलैँचा उद्योग पुनःसञ्चालन गर्नका लागि सरकारले भेडापालन प्रोत्साहन गर्दै र दक्ष जनशक्तिका लागि तालिममा जोड दिनुपर्ने बताइन् । ‘अहिले पनि नेपालको गलैँचा उद्योग विदेशी मुद्रा भित्र्याउने प्रमुख क्षेत्र हो, तर यस क्षेत्रप्रति राज्यको चासो बढ्न सकेको छैन’ अहिले भारतले नेपाली गलैँचाको नक्कल गरेर नेपाली गलैँचा बजार कब्जा गर्दै गएको उनको भनाइ छ ।

महिला सीप विकास संस्था पोखराका कार्यकारी निर्देशक रामकली खड्का स्थानीय उत्पादन, विशेषगरी गलैँचा उद्योगले महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको उत्पादन र बजार बढाउनुपर्ने बताउँछिन् ।

हाते गलैँचाको लागि धेरै विधि र प्रक्रियाबाट मात्र सम्भव हुने तर अहिले सस्तो र सजिलै उत्पादन हुने गलैँचाले स्थान लिएपछि मौलिक परम्परा बोकेको गलैँचा विस्तारै हराउन थालेको छ । –नवराज अधिकारी, व्यवसाय प्रवर्द्धन केन्द्र प्रमुख, पोखरा महानगर
‘यो उत्पादनको माग राम्रो भए पनि उत्पादनको स्तर र बजारीकरणको दायरा सिमित छ, स्थानीय सरकारले यस उद्योगलाई प्रवद्र्धन गर्न तालिमको व्यवस्था गरी उत्पादन क्षमता बढाउन सकेमा, हामी बजारीकरणमा पहल गर्न तयार छौं’, खड्काले भनिन्। हिमाली भेगका विशेष थकाली महिलाहरुले हातेतानबाट बुन्ने विशेष कलालाई अरु समुदायका महिलामा पनि हस्तान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले स्थानीय उत्पादन र पर्यटकले लाने उपहारको प्रवद्र्धनलाई प्राथमिकता दिँदै विभिन्न नीति तथा योजना अघि सारेको बताए । अधिकारीले भने, ‘पोखरा महानगरको नीतिअनुसार पोखराका हस्तकला, ढाका कपडा, गलैँचा, परम्परागत हस्तशिल्प सामग्री, कृषि उपजलाई ब्राण्डिङ गरिने र यसका लागि ‘कोसेली घर’ स्थापना गर्ने योजना अघि सारिएको छ।’ उनले स्थानीय उत्पादनलाई एकीकृत रूपमा प्रदर्शन र बिक्री गर्ने उद्देश्यसहित अघि बढेको बताए ।

महानगरपालिकाले पर्यटकहरूलाई स्थानीय संस्कृति र उत्पादन अनुभव गराउँदै पोखराका उत्पादनलाई दिगो बजारीकरण गर्न चाहेको बताए । ‘महानगरले परम्परागत गलैँचा, ढाका टोपी, काठका सामग्री र हातले बुनेका हस्तकला वस्तुहरूलाई पर्यटकका लागि आकर्षक उपहारका रूपमा विकास गरिहरेको छ’ अधिकारीले भने ।

पर्यटकले लाने उपहारलाई थप पर्यावरणमैत्री बनाउन हरित उत्पादनलाई पनि प्रोत्साहन गरिरहेको उनको भनाइ छ। उनका अनुसार कला सांस्कृतिक, जगेर्नादेखि हस्तकला, कृषि उत्पादनलगायत सीप विकाससम्बन्धी २१ थरीका तालिमबाट १६ सय जनालाई तालिम दिइसकेको छ।

पोखरा छोरेपाटनस्थित तिब्बतियन शरणार्थी क्याम्पमा रहेको टासिलिङ हस्तकला सेन्टरका म्यानेजर कर्मा सोनामले सीप हस्तातरण नहुँदा र नयाँ पुस्ताले रुचि नदेखाउँदा हातेतानका गलैँचा उत्पादन कमि हुँदै गएको बताए । ‘अहिले पोखराको हेम्जा, पृथ्वीचोक र छोरेपाटन तिब्बतीयन शरणार्थी क्याम्प छन् । तर व्यावसायिक रुपमा क्याम्पभित्र गलैँचा उत्पादन हुन सकेको छैन।’

उनले क्याम्प घुम्न आउने पर्यटकको लागि देखाउने र सोभनियरको रुपमा लैजाने गलैँचा मात्र उत्पादन हुने गरेको बताए । हाते गलैँचाको लागि धेरै विधि र प्रक्रियाबाट मात्र सम्भव हुने तर अहिले सस्तो र सजिलै उत्पादन हुने गलैँचाले स्थान लिएपछि मौलिक परम्परा बोकेको गलैँचा विस्तारै हराउन थालेको उनको भनाइ छ।

सम्बन्धित निकाय र स्थानीय समुदायले सहकार्य गरेर गलैँचाको मौलिकतालाई जोगाउनेतर्फ कदम चाल्नसके यसको बजार बढाउँदै रोजगार सिर्जना गर्न सकिने विश्वास सोनामको छ ।

-जमुना वर्षा शर्मा/रासस

ADVADV

सम्बन्धित खबर

Advertise