काठमाडौंः लोकतान्त्रिक आन्दोलनका योद्धा एवं समाजसेवी बासु (बासुदेव शरण) कोइरालाको आज निधन भएको छ । केही समययता अस्वस्थ्य रहेका ९३ वर्षीय कोइरालाको सर्लाहीको जुटपानी (नवलपुर) स्थित आफ्नै निवासमा निधन भएको उनका आफन्त वरिष्ठ पत्रकार हरिहर विरहीले जानकारी दिए ।
उनले आफ्नो शरीर बिपी कोइरालाको नाममा स्थापित धरानको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान अनुसन्धान गर्ने विद्यार्थीहरूको सहयोगार्थ दान दिएअनुसार आजै उनको पार्थिव शरीर अस्पताले ग्रहण गरेको थियो ।
काभ्रेको खोपासीमा ९३ वर्षअघि जन्मिएका उनी २०१२ सालदेखि नेपाली कांग्रेसको नीति, कार्यक्रममा समर्पित थिए । उनी विसं २०१५ को निर्वाचन, सुवर्ण शम्शेरको नेतृत्वको २०१८ को तथा बिपी कोइरालाको आह्वानको २०३०-३२ को सशस्त्र सशस्त्र सङ्घर्ष एवं २०४२ को सत्याग्रह सक्रिय सहभागी रहे ।
त्यस क्रममा कोइरालाले लामो समय यातनापूर्ण काराबास र ४ वर्ष निर्वासित जीवन झेलेका थिए ।मुलुकको शैक्षिक क्षेत्रको उन्नयनमा उल्लेख्य योगदान दिएका उनले काठमाडौं र सर्लाहीमा ‘नवजीवन विद्याश्रम’ नामक स्तरीय विद्यालय स्थापना र सञ्चालन गरी निःशुल्क पठनपाठनको व्यवस्था गर्ने कार्यमा विशिष्ट भूमिका निर्वाह गरेका थिए ।
आफूलाई भेट्न आउने शुभच्छुलाई सधैँ भन्थे, ‘परिणाम जे भए पनि इमान, नैतिकता र विवेक नछोड्नु, दीनदुखी र समाजको सेवा गर्नु ।’ किसान आन्दोलनमा पनि सक्रिय उनी नेपाल किसान सङ्घको केन्द्रीय अध्यक्ष समेत भएका थिए ।
उनी कांग्रेसको सर्लाही जिल्ला सभापतिका साथै पटकपटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका थिए । पछिल्लो समय उनी सर्लाहीको जुटपानी (नवलपुर) स्थित आफ्नै निवासस्थानमा बृद्धाश्रम स्थापना गरी बृद्धबृद्धाको सेवामा समर्पित थिए । उनकी श्रीमती, एक छोरा र एक छोरी छन् ।