काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलिया बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत पुगेका झालाई छाड्न अदालतले अस्वीकार गर्दै थुनामा राख्नुको कारण माग गरेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि उच्च अदालत पुगेका झा उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बेचनलाई छाड्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ । झाले ४ पुसमा सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । सो निवेदनमाथि ५ पुसमा न्यायाधीश कुमार रेग्मीको इजलासले कैफियत प्रतिवेदन माग गरेपछि झा फेरि बिहिवार बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर अदालत पुगेका थिए ।
जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनी उच्च अदालत पाटन पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।
उच्च अदालतका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको थियो । २ भदौ, २०८१ म जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेको थियो ।
उनले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, उच्च सरकारी वकीलको कार्यालय, जिल्ला सरकारी वकीलको कार्यालय, प्रहरी प्रधान कार्यालयह, केन्द्रीय अनुसन्धान व्यूरो र कारागार कार्यालय जगन्नाथदेवललाई प्रतिवादी बनाउँदै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।
शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट झाले दुई करोड रुपैयाँको चेक बुझेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीविरुद्ध ठगी,लिखित कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसूरमा मुद्दा दायर भएको छ ।