२०८१ माघ ४ गते शुक्रवार / Jan 17 , 2025 , Friday
२०८१ माघ ४ गते शुक्रवार
Ads

वैदेशिक रोजगारीले सिकाएको व्यावसायिकता

hardik ivf
रासस
२०८१ माघ ३ गते २१:३४
वैदेशिक रोजगारीले सिकाएको व्यावसायिकता

इलाम : माईजोगमाई गाउँपालिका– ४ नामसालिङका पुजन र लक्ष्मी प्रधानको जोडी वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै स्वरोजगार बनेका छन् । ६ वर्ष साइप्रसमा काम गरेर गाउँ फर्किएका उनीहरूले ३० लाख लगानीमा बंगुरपालन सुरु गरेको ७ महिना भयो ।

‘लक्ष्मी पशुपालन बंगुर फार्म’ दर्ता गरेर सुरु गरिएको व्यवसायमा आम्दानी सुरु हुन अब ३ महिना लाग्छ । ‘अहिले ४२ बंगुर छन् । पाठा हालेको ७ महिना भयो । अब ३ महिना पालेपछि विक्री गर्न सकिन्छ’, लक्ष्मीले भनिन्, ‘पाठा हुर्किंदै जाँदा लगानी बढ्दै गएको छ तर बजार भाउ राम्रो छ । बेच्न समस्या हुँदैन ।’

राम्रो स्याहार पुगेको एउटा बंगुर सामान्यतया १ क्विन्टल हुने उनले बताइन् । इलामका बजारमा बंगुरको मासु हाल प्रतिकिलो ५०० देखि ६०० रुपैयाँसम्ममा विक्री भइरहेको छ । 

पशुपालन मात्र होइन, पुजनका २ वटा यात्रु गाडी छन् । फार्ममा लक्ष्मीसहित अन्य २ जना खट्छन् भने पुजन गाडी चलाउँछन् ।

‘बंगुरपालन असफल भए गाडी चलाएर जिउन सकिन्छ तर हाल दुवै व्यवसाय सफल नै छन् । विदेश जान मन छैन । स्वदेशमै राम्रो गर्न सकियोस् भन्ने लागेको छ’, गत वर्ष गाउँमा आमा बिरामी परेपछि दुवै जना स्वदेश फर्किएको लक्ष्मीले बताइन् ।

‘रोगले आमा बित्नुभयो । त्यसपछि विदेश जाने मन भएन । गाउँमै स्वरोजगार बन्ने सोचले पशुपालन सुरु गरेका हौं’, उनले भनिन्, ‘पुर्खाले पनि बंगुर त पालेकै हुन् तर व्यावसायिक बन्न नसक्दा सधैं निर्वाहमुखी हुनुप¥यो । विदेशमा पैसा कमाएर शहरमा घर किन्नुभन्दा गाउँमै व्यवसाय गर्दा अरूलाई पनि प्रोत्साहन मिल्छ भन्ने लाग्छ ।’

स्थानीय तहमै उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेको भनाइ छ । पुजन र लक्ष्मीले सुरु गरेको बंगुरपालन कर्मले गाउँलाई व्यावसायिक बन्नुपर्छ भन्ने कुरामा प्रोत्साहन गरेको भन्दै गाउँपालिका अध्यक्ष थेबेले सकेसम्म आर्थिक तथा प्राविधिक सहयोग गर्ने बताए । ‘पालिकाभित्र व्यवसाय संचालन गरी व्यवसायी र आत्मनिर्भर बन्न चाहेमा सहयोग गर्छौं’, उनले भने ।

जिल्लामा पशु तथा पशुजन्य पदार्थको माग बढिरहेको अवस्थामा खाद्य सुरक्षा तथा पौष्टिक आहाराको सुनिश्चितताका लागि एकीकृत रूपमा पशुपालन व्यवसायको विकास अपिहार्य भएको गाउँपालिका उपाध्यक्ष प्रवीना राईले बताइन् ।

पाल्तु पशुमध्ये मासु उत्पादनका लागि बंगुरपालन व्यवसायबाट छोटो अवधिमा उच्चस्तरको मासु उत्पादन गर्न सकिने माईजोगमाईका पशु प्राविधिक प्रदीप गुरुङले जानकारी दिए । 

उनले भने, ‘बंगुरपालन व्यवसायबाट अन्य पशुपक्षीको दाँजोमा मुनाफाको प्रतिफल सबैभन्दा बढी पाइएकोे छ । मासुको रूपमा बंगुरका प्रायः सबैजसो अंगको परिकार बनाएर खाइने गरेको छ । बंगुरको मासुबाट बनाइने विभिन्न परिकारमा ससेज, ब्याकन, ह्याम आदि बनाइने होटल व्यवसायी सोम सुनुवारले बताए । 

बंगुरको मासुमा उच्च श्रेणीको प्रोटिन, भिटामिन, खनिज, फ्याट र मेटाबोलिक इनर्जीको मात्रा धेरै भएकाले यो सन्तुलित आहारा भएको चिकित्सक सरोज दर्नालको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise