
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले असमझदारीहरू पन्छाएर नेपाल–मलेसिया रोजगारी सहज बनाउन नेपालस्थित मलेसियाली दूतावासका चार्ज डी अफेयर्स मोहम्मद फिर्दोस विन अजमानलाई आग्रह गरेको छ ।
संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा गएको कार्यसमिति प्रतिनिधिमण्डलले सोमबार चार्ज डी अफेयर्स अजमानलाई मलेसियाली दूतावासमा भेटेर उक्त आग्रह गरेको हो । भेटपछि जारी गरिएको प्रेस विज्ञप्तिमा संघले मलेसियाको श्रम बजारमा देखिएका जटिलता, सिन्डिकेटको प्रयासप्रति दूतावासको धारणा तथा भूमिका र यसले नेपाली श्रमिक, वैदेशिक रोजगार क्षेत्र एवं नेपाल–मलेसियाबीचको द्विपक्षीय सम्बन्धमा पार्न सक्ने दीर्घकालीन प्रभावका विषयमा महत्वपूर्ण छलफल भएको उल्लेख गरेको छ ।
छलफलका क्रममा संघले नेपाल–मलेसिया द्विपक्षीय श्रम सम्झौता नवीकरण प्रक्रिया अघि बढाउन तथा संयुक्त कार्यदलको बैठक यथाशीघ्र आयोजना गर्न अजमानसँग अनुरोध गरेको छ । जवाफमा चार्ज डी अफेयर्स अजमानले मलेसिया सरकारका सम्बन्धित निकायबाट संयुक्त कार्यदलको बैठकका लागि स्वीकृति लिने प्रक्रिया अघि बढिसकेको, तर वर्षान्तको समय भएकाले नेपाल सरकारले प्रस्ताव गरेको मितिमा सहमति हुन नसकेको बताए । यद्यपि, निकट भविष्यमा बैठकको मिति तय हुने विश्वास उनले व्यक्त गरेको संघले जनाएको छ ।
नोभेम्बर ५ तारिखदेखि नेपाली श्रमिकको मेडिकल हुन नसक्दा नयाँ कलिङ भिसा जारी भएको छैन । मलेसियाको रोजगारी सहज बनाउन नोभेम्बर १८ र १९ वा डिसेम्बर २ र ३ मा वार्ता गर्न नेपालले गरेको प्रस्तावमा मलेसियाबाट जवाफ आएको छैन । यसले मलेसिया रोजगारीको अनिश्चिततासम्बन्धी संशय थप गहिरिएको हो ।
अजमानले कुनै व्यक्ति वा संस्था विशेषलाई प्राथमिकता नदिई श्रमिकको हितलाई केन्द्रमा राखेर दुवै देशबीच सहमति कायम गर्नुपर्ने धारणा राखेका छन् । त्यस क्रममा दुवै देशका संविधान, श्रम तथा श्रमिकसम्बन्धी ऐन, कानुन, नियम, नियमावली, कार्यविधि र व्यावहारिक पक्षहरूको समेत सम्मान गर्दै निर्णय लिनुपर्ने आफ्नो धारणा स्पष्ट पारेको संघले जनाएको छ ।
संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले मलेसिया रोजगारी क्षेत्रका विद्यमान समस्या समाधान गर्न सकारात्मक पहल हुने र त्यसबाट नेपाली श्रमिक तथा समग्र वैदेशिक रोजगार क्षेत्रले सकारात्मक परिणाम प्राप्त गर्ने अपेक्षा गरिएको बताए ।
यसअघि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसिया रोजगारी खुलाउने प्रक्रियालाई छिटो टुंगोमा पु¥याउन नेपालका लागि मलेसियाका चार्ज डी अफेयर्स अजमानलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए ।
मलेसिया नेपाली श्रमिकको मुख्य गन्तव्य र नेपालमा रेमिट्यान्स भित्रिने प्रमुख स्रोत मुलुक हो । मलेसियामा विशेषगरी आइटी, इलेक्ट्रोनिक्स, कन्स्ट्रक्सन, प्लान्टेसन र सुरक्षागार्डमा नेपालीका लागि रोजगारीका अवसर पर्याप्त रहेको मानिन्छ ।
गत वर्ष ३ लाख ८५ हजार ७८३ जना वैदेशिक रोजगारीमा गएको मलेसियामा म्यानपावर कम्पनीमार्फत मात्रै १ लाख ३२ हजार ६४६ जना गएका थिए । प्रतिशतका हिसाबले यो संख्या वैदेशिक रोजगारीमा संस्थागत रूपमा गएकामध्ये ४३ प्रतिशतभन्दा बढी हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकले मलेसियाबाट मासिक ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिने गरेको देखाएको छ । नेपालमा दर्ता रहेकामध्ये ६० देखि ६५ प्रतिशत म्यानपावर व्यवसायीले मलेसियामा श्रमिक पठाउने गरेका छन् ।