काठमाडौं : काठमाडौं र पोखरा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध रुपन्देही जिल्लामा अर्को मुद्दा दर्ता गर्ने तयारी भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने र उनका साझेदार एवं गोर्खा मिडियाका तत्कालीन संचालक छविलाल जोशीसहितविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध शुक्रबार पूरक अभियोग दर्ता गर्ने तयारी सरकारी वकिल कार्यालयको छ ।
कार्यालयले बिहीबार १७ जनाविरुद्ध थप अभियोगपत्र दायर गरेको छ । गोर्खा मिडिया नेटवर्कमा रविका साझेदार तथा सुप्रिम सहकारीका संचालक गितेन्द्रबाबु राई (जीबी)सहित २८ जनाविरुद्ध पहिले नै अभियोग दर्ता भइसकेको छ ।
बिहीबार थप अभियोगमा प्रतिवादी जीबीसहित १७ जनाविरुद्ध संगठित अपराधको कसुर समावेश गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यसअघि नै मुद्दा दर्ता भइसकेकाहरूको कसुरमा बिहीबार थप कसुर र बिगोसहित अभियोग लगिएको छ । पूरक अभियोग शुक्रबार दर्ता गरिने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ ।
लामिछाने र जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा पनि मुद्दा दायर गर्ने तयारी सरकारी वकिलको कार्यालयले गरेको छ ।
रुपन्देहीको सुप्रिम सहकारीबाट १ हजार ८२८ जना बचत(कर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको आरोप छ । बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको पुरानै अभियोग छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेको नाममा सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ निकासा गरिएको भेटिएको जनाएको छ ।
सुप्रिम सहकारीले रकम पठाएका कम्पनीका संचालक समितिको नाम र विवरण पनि अभियोगपत्रमा छ, जसमा लामिछानेको नाम पनि उल्लेख छ ।
गोर्खा मिडिया नेटवर्क प्रा. लि.का संचालकमध्ये लामिछानेको पनि हिनामिनामा संलग्ता रहेको संसदीय छानबिन समितिले पुष्टि गरेको थियो । रकम अपचलन गर्ने कम्पनीमा लामिछानेको १ लाख ८० हजार कित्ता शेयर देखिएको थियो ।
यस शेयरको मूल्य १ करोड ८० लाख रुपैयाँ छ । ७ पुस २०७८ मा गोर्खा मिडिया नेटवर्क प्रा. लि.को शेयर लामिछानेको नाममा कायम गरेको भेटिएको थियो ।
यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा ६५ लाख धरौटीमा रिहा भएका छन् ।
यस्तै, उनी काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा ६० लाख धरौटीमा रिहा भएका छन् ।
लामिछानेविरुद्ध चितवनको सहारा चितवन र पर्साका सानो पाइला सहकारीमा पनि मुद्दा चलाउने तयारी छ । दुवै जिल्लाका प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्याएका छन् ।