२०८१ माघ ४ गते शुक्रवार / Jan 17 , 2025 , Friday
२०८१ माघ ४ गते शुक्रवार
Ads

अर्को ‘नयाँ शक्ति’को प्रयास

hardik ivf
दिवाकर अधिकारी
२०८१ माघ ४ गते ०६:३०
अर्को ‘नयाँ शक्ति’को प्रयास

काठमाडौं : नेकपा एमालेबाट निष्कासनमा परेका भीम रावलले पार्टी संरचनाको खाका प्रस्तुत गरेका छन् । पूर्वउपप्रधान एवं गृहमन्त्री रावलले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु गरेका हुन् । 

सबै विचार समूहका व्यक्ति अटाउन सक्ने उनले अवधारणापत्र सार्वजनिक गरेका हुन्, जसमा पार्टीको नाम ‘मातृभूमि जागरण अभियान नेपाल’ रहने भनिएको छ । यस्तो पार्टी संरचनासहितको खाका प्रस्तुत गरेर रावलले आफू अर्को नयाँ राजनीतिक शक्तिको अभ्यासमा रहेको प्रस्ट सन्देश दिएका छन् ।

रावलले वडा तहसम्म पार्टीको संरचना कस्तो हुने र कति सदस्यीय हुनेसमेत समावेश गरेका छन् । वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने भनिएको छ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र त्यस्तो समिति १५ देखि २५ सदस्यीय रहने छ । योभन्दा बढी सदस्यीय हुन आवश्यक भएको खण्डमा सम्बन्धित तहमा तसर्थ परिषद् गठन गर्ने व्यवस्था राखिएको छ । 

२०३० सालदेखि प्रगतिशील विद्यार्थी राजनीतिमा होमिएयता रावल राजनीतिमा छन् । ५ दशकदेखि राजनीतिमा सक्रिय रावल एमालेमा निष्कासनमा परेपछि नयाँ पार्टी निर्माणमा जुटेका हुन् । 

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल २०४६ सालको आन्दोलनपछि बनेको अन्तरिम सरकारमा पहिलो पटक कृषि, भूमिसुधार तथा व्यवस्थामन्त्री हुँदा रावल उनका स्वकीय सचिव बनेका थिए । 

त्यसको २० वर्षपछि २०६६ सालमा बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारमा रावल गृहमन्त्री बनेका थिए । 

अर्थात्, माथिल्लो तहमा रहेर नेपालको राजनीतिमा लामो समयदेखि रहेका रावल पुराना सम्बन्ध तोडेर नयाँ शक्ति निर्माणमा जुटेका हुन् । हाल माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीले बोलाउँदासमेत उनी गएनन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लडेपछि नै उनी एमालेभित्र किनारामा थिए । ओलीले पार्टीबाटै निकालेपछि रावल नयाँ सम्बन्धसहितको राजनीतिक शक्ति निर्माणमा जुटेका हुन् । 

एमालेमा छँदा भीम रावलको छवि नेतृत्व वरिपरि रहन रुचाउने नेताका रूपमा थियो । अब नयाँ शक्ति बनाएर आफैं नेतृत्वमा आउँदै छन् उनी । 

राजनीतिशास्त्रका ‘गोल्ड मेडलिस्ट’, अंग्रेजी र नेपाली भाषामा उत्तिकै पकड भएकाले उनी एमालेका दस्तावेज तयार पार्ने जिम्मेवारीमा ज्यादा हुन्थे । यस कारण पनि उनी लामो समयसम्म पार्टी सत्तासँग निकट हुँदै आएका हुन् । 

कूटनीतिक भेटघाट र वार्ताको सहजीकरणमा पनि उनी रहन्थे । कूटनीतिक भेटघाट, दलीय संयन्त्रहरूको बैठक, राजनीतिक दलहरूबीचको वार्तामा तथ्य, तथ्यांकसहित प्रस्तुत हुने आफ्नो तर्कमा सहमत गराउन सक्ने क्षमता भएका कारणले पनि उनी नेतृत्वका वरिपरि रहन्थे । तर, एमालेमा पार्टी उपाध्यक्षसम्म भएर पनि नेतृत्वमा पुग्न सकेनन् । 

एमालेमा रहँदा माधवकुमार नेपालसँग निकट रहेर काम गरेका रावल २०७१ सालको नवौं महाधिवेशनपछि केपी शर्मा ओलीसँग निकट बन्न पुगे । दशौं महाधिवेशनमा ओलीसँगै चुनाव लडेपछि अन्ततः एमालेबाटै निकालिन पुगे । अब नयाँ सम्बन्ध बनाएर नयाँ शक्ति बनाएर अगाडि बढ्ने रावलको निचोड छ । यही निचोडका साथ उनले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु गरेका हुन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise