सुनसरी : धरान–१५ की मनिता घिमिरे सात वर्षदेखि तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आएकी छन् । उनले उत्पादन गरेको साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत अन्यत्र बिक्री हुने गर्दछ । नेपालमा मात्र नभएर विदेशका धेरै ठाउँहरूबाट ‘अनलाइन’बाट माग गर्ने ग्राहक धेरै भएको उनी बताउछिन् ।
केही वर्षअघि काठमाडौँको ठमेलमा एकजना विदेशीबाट साबुन बनाउने तालिम लिएर त्यहाँबाट सिकेको सीपको उपयोग गर्दै उनले उद्योग सञ्चालन गरेकी हुन् । उनले सात वर्षदेखि धरान–१५ स्थित आफ्नै घरमा साबुन उद्योग सञ्चालन गरिरहेकी छन् । रु २५–३० हजारको लगानीमा सुरु गरेको व्यापार अहिले राम्रो आम्दानीको स्रोत बनेको छ । नेपालमै सिकेको सीपलाई उपयोग गर्न सकियो भने थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।
उनले आफूमा रहेको सीपलाई विस्तार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा आयोजित तालिमहरूमा महिलालाई प्रशिक्षित गराइरहेकी छन्। उनले इटहरी, उदयपुर, धनकुटालगायत ठाउँहरूमा तालिमहरू दिइसकेकी छन् । महिलाहरूले फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्न सक्ने उनी बताउछिन्। उनले भन्छिन्, “गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउन सकिन्छ, यसबाट उपभोक्तादेखि मुलुकलाई नै फाइदा हुन्छ ।”
सानो लगानीबाट गर्न सकिने यस्ता व्यवसायका लागि स्थानीय सरकार र स्थानीय तहमा वडा कार्यालयले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनको सुझाव छ । पछिल्लो समय जलवायु अनुकूलको दृष्टिले पनि रैथाने बालीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । अहिले धरानमा सञ्चालन गरिएको एक्स्पोमा पनि उनले बनाएको साबुन किन्नेको घुइँचो देख्न सकिन्छ । मेलामा राखिएका रैथाने उत्पादनहरूप्रति उपभोक्ताहरूको आकर्षण बढेको छ ।
किवीको व्यावसायिकखेती
पाँचथरका जुनु लावती २०६८ सालदेखि किबीखेती गर्दै आएकी छन् । उनले सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योग फार्म सञ्चालन गर्दै आएकी छन् । परम्परागत निर्वाहमुखी खेतीभन्दा व्यावसायिकखेती गरी आम्दानीसँग जोडिने नगदेबालीका रूपमा किबीखेती उपयुक्त लागेकोले २०६८ सालदेखि यसको खेती सुरु गरेको उनले बताइन् ।
उनले यसमा कृषि फर्म, नर्सरी र प्रशोधन केन्द्र स्थापनामा झण्डै रु एक करोड बराबरको लगानी गरिसकेकी छन् । उनले अहिले ४५ रोपनी क्षेत्रफलमा किबीखेती गरिरहेकी छन् भने भाडामा जग्गा लिएर १५ रोपनी क्षेत्रफलमा नर्सरी उत्पादन गरेकी छन् । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन, मिहेनत गरेमा कृषि पेसामै आत्मनिर्भर हुन सकिने उनको भनाइ छ । उनी भन्छिन्, “कृषिमा लागेर पनि सफल व्यवसायी बन्न सकिने रहेछ ।”
उनी धरान एक्स्पोमा किवीको व्यापार गर्दै आएकी छन् । किबी र किबीबाट उत्पादन गरिएका जुसको व्यापार अत्यधिक मात्रामा बिक्री भइरहेको छ । लावतीले अहिले एक्स्पोमा किबी फलबाट उत्पादन गरिएको किवीको जुस, अचारलगायत किबीबाट उत्पादन गरिएको विभिन्न वस्तुहरू बिक्रीका लागि राखिएको छ । सूचना प्रविधिको पहुँचबाट टाढा रहेका कारण आफूले अनलाइनको माध्यमबाट बजारीकरण गर्न नसकेका कारण विभिन्न जिल्लामा आयोजित एक्स्पो मेला, महोत्सवलगायत ठाउँहरूमा पुगेर आफ्ना उत्पादनहरू बिक्रीका लागि लैजाने गरेको उनले बताइन् ।
यस्ता मेला, महोत्सवहरूमा दैनिक रु ८० हजारदेखि रु एक लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । उनले भनिन्, “दुर्गम ठाउँहरूमा उत्पादन गरिएका कृषि रैथाने बाली पर्याप्त पौष्टिक तत्त्वले भरिपूर्ण हुने र स्वास्थ्यका लागि फाइदाजनक हुने हुँदा बिस्तारै उपभोक्ताहरूको आकर्षण बढ्दो छ । अझै यसबारे प्रचारप्रसार र आम सर्वसाधारणमा जानकार र चेतना पु¥याउन सकिएमा बजारको समस्या हुने थिएन ।” लावतीले भनिन्, “किबी उत्पादन भए पनि बजारको समस्या छ । किसानले उत्पादन गरेको वस्तुहरू सरकारले उचित मूल्यमा खरिद गरी बजारीकरण गरिदिए किसानलाई सहज हुनेछ । किसानहरूले उत्पादन गरेका वस्तुहरू बिक्री हुने कुरा सुनिश्चित गर्न सकिए नेपालमै स्वरोजगार सिर्जना गर्न सकिन्छ ।”
उनले किबी खेतीबाहेक नर्सरीबाट पनि राम्रै आम्दानी गरेकी छन् । उनको नर्सरीबाट उत्पादन गरिएका विभिन्न जातका बिरुवाहरू पाँचथर, सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा मात्र होइन, भारतका विभिन्न सहरहरूमा समेत बिक्री हुने गरेको छ ।
सक्खरको गुलियो व्यापार
विगत २० वर्षदेखि सख्खरको व्यापारमा रमाई रहेका सङ्खुवासभाका दिलीप मगरलाई पनि यस पटकको धरान एक्स्पो निकै फाइदाजनक बन्यो । उनी सक्खरको व्यापारबाट राम्रै आम्दानी भएको बताउछन् । लामो समयसम्म सुँगुरपालन र दानाखेती गर्दै आएका उनी २० वर्षदेखि सक्खरको व्यापारमा लागेका छन्। अहिले डिएलएमएस बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म खोलेर सक्खरबाहेक अम्रिसोको कुचो, निबुवाको चुक साथै अन्य अग्र्यानिक कृषि उत्पादनको व्यापार पनि गर्ने गर्छन् ।
सक्खरको व्यापार मौसमी पेसा भएकाले वर्षमा नौ महिना मात्रै यसको व्यापार हुने गरेको गर्दछ । नौ महिनामा मात्र उनले पाँच हजार केजीभन्दा बढी सक्खर बनाएर बिक्री गरेको र यसबाट रु १२ लाखसम्म आम्दानी भएको उनको भनाइ छ । सक्खर बनाउनका लागि मात्र उनले अहिले ९५ रोपनी जग्गामा उखुखेती गर्दै आएका छन् । उनले भने, “सक्खर बनाउनका लागि उखु बाहिरबाट खरिद गर्नु पर्दैन, आफैँले खेती गरेको कारण निकै सहज भएको छ ।”
उनको फार्ममा बास्नादार र शुद्ध सादा गरी दुई किसिमको सक्खर पाइन्छ । बास्नादार सक्खर बनाउँदा ल्वाङ, सुकुमेल, गरम मसला र नरिवल हालेर बनाउने गरिन्छ भने शुद्ध सादामा केही नहाली बनाइएको हुन्छ । उनले सादा सक्खर अहिले प्रतिकेजी रु दुई सय र बास्नादार सक्खर रु पाँच सयमा बिक्री भइरहेको बताउछन् । उहाँका अनुसार सक्खर किन्नका लागि धेरैजसो व्यापारी फार्ममै पुग्ने गरेका छन् भने कतिपयले फोनबाट माग गर्दछन् । फार्मबाट बिक्री गर्नुभन्दा मेला, महोत्सवमा बिक्री गर्दा बढी फाइदा हुने गरेको उनको भनाइ छ ।
पछिल्लो समय धेरै मानिसमा मधुमेहको समस्या देखिएकाले पनि चिनीको सट्टा सक्खरको प्रयोग गर्न थालेपछि यसको व्यापार बढेको उनको भनाइ छ । उनले उत्पादन गरेको सक्खर सुनसरी, धनकुटा, मोरङ, विराटनगर, झापा, काठमाडौँ, पोखरालगायत ठाउँमा बिक्री हुने गरेको छ ।
एक्स्पोमा सक्खर किन्न आएका धरानका साजन उदास पछिल्लो समय गुलियो पारखीहरूका लागि सक्खर निकै लाभदायी भएको बताए । उनले भने, “चिनीको प्रयोग गर्दा विभिन्न किसिमका रोग लाग्ने गरेकाले सक्खरको प्रयोग गर्न थालेको हुँ ।” सक्खरलाई चिनीको सट्टा चिया, रोटीलगायत अन्य परिकारहरूमा प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
एक्स्पोले गरायो बजारीकरण
सुनसरी उद्योग वाणिज्य संघको आयोजना, स्थानीय सरकार, धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, संघीय सरकारको सहयोगमा सुरु भएको धरान एक्स्पोबाट स्थानीय किसानका साथै उपभोक्ताहरू लाभान्वित भएका छन् । व्यापार–व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा हस्तकलाका सामग्री, कृषिजन्य उत्पादनहरू राखिएका छन् । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ भन्छन्, “एक्स्पोमा विषादीयुक्त तरकारीका साथै कृषि उपजको आयातलाई निरुत्साहित गर्दै किसानले उत्पादन गरेको स्थानीय उत्पादनहरूलाई प्राथमिकतामा राखेर एक्स्पोको आयोजना गरिएको हो ।”
एक्स्पोमा स्थानीय उत्पादन र किसानलाई अग्र्यानिक उत्पादनमा जोड दिँदै बिक्री कक्षहरू राखेर प्राविधिक सहयोग गर्दै आएको धरान एक्स्पो अनुगमन समितिको संयोजक जयप्रकाश शर्माले बताए । स्थानीय निकायमा भएका सानादेखि ठूला उद्योगबाट उत्पादन भएका सबै उत्पादनलाई एक्स्पोमा प्रदर्शनीका लागि राखिएको एक्स्पोका मूल संयोजक गोपाल श्रेष्ठ बताउछन् ।
एक्स्पोमा राखिएका एक सय ४२ वटा स्टलमा कृषिउपज, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, तयारी कपडा, घरेलु सामान प्रदर्शनी र बिक्रीका लागि राखिएका छन् । एक्स्पोमा कोशी प्रदेशका विभिन्न जिल्लाहरू र छिमेकी दार्जिलिङलगायत भारतका विभिन्न स्थानबाट अवलोकन तथा व्यापार–व्यवसायका लागि आउने मानिसको भीड लागेको छ । एक्सो गत पुस २५ गतेदेखि सुरु भई यही माघ ५ गतेसम्म सञ्चालन भइरहेको छ ।