चितवन : सहकारीको रकम अपचलन मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर तयार पारेको पूरक प्रतिवेदन चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको जाहेरीमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको अनुसन्धानमा देखिएको बताइएको छ । लामिछाने र छविलाल जोशी गोर्खा मिडियाका संचालक हुन् ।
गत ८ असोजमा पनि प्रहरीले सहारा सहकारीका पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले जी. बी. राईलगायत १७ जनाविरुद्ध सहकारी संस्थाको बचत रकम हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सहकारीबाट रकम गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आइएमई बैंकको खातामा जम्मा भएको ४७ करोड रुपैयाँ बराबरको कारोबार के कसरी, को–कोसँग भएको हो, सोको विवरण प्राप्त नदेखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले चितवन प्रहरीलाई निर्देशन दिएको थियो ।
अदालतमा राईसहित डेढ दर्जन व्यक्ति उपर ठगीसम्बन्धी कसुरमा मुद्दा यसअघि नै दर्ता भइसकेको छ ।
यो सहकारीका कुल बचतकर्ता ६ हजार ३३४ छन् भने कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा छ ।
सहारा सहकारीका ४४६ जना बचतकर्ताले प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दायर गरिएको थियो । प्रहरीले सोसहित थप १० निवेदनको आधार पूरक प्रतिवेदन तयार पारेको हो । उनीहरूको त्यहाँ ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ बचत छ । अनुसन्धान प्रतिवेदनमा उक्त रकम बराबर बिगो माग दाबी गर्न राय दिइएको छ ।
प्रहरीले प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसुरमा दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय माग दाबी गरेको चितवन प्रहरीले जानकारी दिएको छ । संगठित अपराध निवारण ऐन, २०७० को दफा ३(१) (२) ३ (क) र ५ बमोजिम दफा ९ (क) र (ग) बमोजिम सजाय माग पनि गरिएको छ ।
रुपन्देहीमा दर्ता हुन सकेन पूरक मुद्दा
रुपन्देही जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सक्कल फाइल आउन ढिलाइ भएपछि शुक्रबार हुने भनिएको सुप्रिम सहकारी संस्थाको रकम अपचलनसम्बन्धी पूरक मुद्दा दर्ता हुन सकेन ।
रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसहितका १४ जनाविरुद्ध शुक्रबार जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गर्ने जिल्ला सरकारी वकि(लको कार्यालयले तयारी गरेको थियो तर सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएपछि पूरक मुद्दा दर्तामा ढिलाइ भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले सुरु मुद्दामा ३ वैशाख २०८१ मा २८ जनालाई सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो ।
रवि गृहमन्त्री रहेकै बेला दायर सुप्रिम सहकारीको मुद्दामा त्यतितबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
त्यसमध्ये १७ जनालाई सहकारी ठगी र संगठित अपराधको कसुर र बिगो थपसहितको मुद्दा दर्ताका लागि बिहीबार अदालतमा पेस गरेको थियो भने लामिछाने र जोशीसहितका थप १४ जनाविरुद्ध शुक्रबार पूरक मुद्दा दर्ता गर्ने तयारी थियो ।
सुप्रिम सहकारीबाट लामिछानेले २ करोड र जी. बी. राईलगायतको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
जी. बी.को राहदानी रद्द गर्न आदेश
पोखराको सूर्यदर्शन सहकारी ठगीमा फरार रहेका गीतेन्द्रबाबु राईको राहदानी रद्द गर्न शुक्रबार कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनको राहदानी रद्द गर्न आदेश दिएको हो । राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालत स्रोलले बताएको छ ।
राईविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा विचाराधीन छ । राई मुद्दा प्रक्रियामा सहभागी नभएका र विदेशमा रहेका भन्ने जानकारीका आधारमा राहदानी रद्द गरी लिन सकिन्छ भन्ने उद्देश्यले अदालतले राहदानी रद्द गर्न अनुमति दिएको अदालतको भनाइ छ ।