२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रौतहटका तीन पालिकाले ल्याउन सकेनन् बजेट

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार ११ गते २१:१७
रौतहटका तीन पालिकाले ल्याउन सकेनन् बजेट

रौतहट : स्थानीय तहरुले असार १० भित्रै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि रौतहटका केही पालिकाले भने बजेट ल्याउन सकेका छैनन् । 

गएको आवमा ५ महिना ढिलो गरी बजेट पारित गरेको फतुवा विजयपुर नगरपालिकाले पनि निर्धारित समयमा बजेट ल्याउन सकेको छैन । 

कार्यवाहक मेयर अमवेय खातुन र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानबीचको विवादले सोमबारको नगरसभा रोकिएको एक वडाध्यक्षले बताए । राजस्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि गत वर्षको असार १३ यता मेयर गोपाल राय यादव निलम्बित छन् ।

देवाहीगोनाहीको नगरसभा पनि रोकिएको छ । मेयर प्रेमलाल साह र उपमेयर परनिया देवीबीच मनमुटाव बढेपछि सोमबार आयोजना गरिएको नगरसभा स्थगित भएको हो ।

मेयर साहले एकलौटी गर्न खोजेको उपमेयर परनियाको आरोप रहेको छ । सोमबारको सभाका लागि जेठ २७ मै पत्राचार भएको थियो । मेयर साहले विशेष कारणले सोमबारको नगरसभा स्थगित गर्नुपरेको बताएका छन्  ।

जिल्लाका १६ नगर र २ गाउँपालिका मध्ये फतुवाविजयपुर, देवाहीगोनाही र बौधीमाईले सोमबारसम्म नगरसभा गर्न सकेका छैनन् । गरुडा, कटहरिया नगरले यो वर्ष ५ दिनअघि नै बजेट पारित गरिसकेका छन् ।

बौधीमाई नगरपालिकाका उपमेयरसहितका जनप्रतिनिधिले नगरसभा बैठक बहिष्कार गरेका छन् । मेयर प्रदीप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमीलादेवी जयसवालको नेतृत्व रहेको जनप्रतिनिधिहरुले नगरसभा बैठक बहिष्कार गरिएको बताइएको हो ।

मेयर यादव र उपमेयर जयसवाल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भएपनि मेयरले मनोमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयरसहित केहीले नारा जुलुससहित नगर अधिवेशन बहिष्कार गरेका थिए । सोमबार नगरपालिकाको सभाकक्षमा नवौँ नगर अधिवेशन आयोजना गरिएको थियो । ७ सय ५३ पालिकामध्ये १ सय ९० वटाले मात्रै मंगलबार बिहानसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा बजेट समावेश गरेका छन् ।

पालिकाहरूले नगर तथा गाउँसभामार्फत आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेर असार मसान्तभित्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मधेश प्रदेशका आठ जिल्लाका एक महानगरसहित १ सय ३६ पालिकामध्ये २२ वटा पालिकाले बजेट सार्वजनिक गरेका छैनन् ।

ADVADV

सम्बन्धित खबर

Advertise