काठमाडौं : ‘सासा–रेरे, ट्याक–ट्याक, सासा–रेरे, ट्याक–ट्याक’, हरेक दिन यस्तायस्तै ध्वनि सुनिन्छन् असनचोकदेखि बांगेमुढातर्फ जाने बाटोको एउटा पुरानो घरबाट । साँघुरो गल्लीबीचको यस्तो ध्वनि सुनिने घर हो– हरेराम म्युजिक सेन्टर, जसको ढोकाबाहिर राखिएका छन्, ६–७ वटा पुराना हार्मोनियम, ढोकाबाट भित्र छिर्नै लाग्दा छ एउटा प्यासेज, सोही प्यासेजमा बसेर २ जना युवक बनाइरहेका छन् हार्मोनियमकै केही पार्ट पुर्जा ।
त्यहाँबाट काठको सिँढी चढेर माथि अक्लिँदा छ हार्मोनियम नै हार्मोनियमले भरिएको एउटा कोठा र त्यही कोठाको बीचबाट एउटा होचो ढोका निकालेर बनाइएको छ अर्को कोठा । सोही कोठामा नयाँ, पुराना हार्मोनियम, किलाकाँटी, पेचकस र साना–साना हथौडाबीच भेटिन्छन् त्यस सेन्टरका मालिक अर्थात् हरेराम साह ।
२०१८ सालमा महोत्तरीमा जन्मेका साह कक्षा ३ पढ्दादेखि नै बिग्रिएको हार्मोनियम बनाउने काममा लागेका हुन् । हार्मोनियम बनाउने उनको पुर्ख्यौली पेसा हो । घरका जेठा छोरा उनले बुबाको पछि लाग्दालाग्दै हार्मोनियम बनाउन सिकेका थिए । काम हार्मोनियम बनाउने भए पनि उनको रुचिको विषय संगीत थियो । संगीतकै लागि यो पेसा अँगालेको साह बताउँछन् ।
काठमाडौंका गल्लीदेखि दरबारसम्म
२०३० सालतिर कक्षा ८ पछिको पढाइ छाडेर बुबासँगै राजधानी पसेका साहले केही समय भाडामा बसेर यहाँको नेवार समुदायको हार्मोनियम बनाए । त्यसको केही वर्षपछि असनमै २०० रुपैयाँ भाडा तिरेर उनका बुबाले पसल खोलेका उनी बताउँछन् ।
साह हार्मोनियम बनाउँदै काठमाडौंका गल्लीमा सीमित रहेनन् । उनले स्वर सम्राट नारायण गोपाल, रत्नदास प्रकाश, अमर गुरुङ, नातिकाजी, प्रेमध्वज प्रधानदेखि तत्कालीन राजा वीरेन्द्रको दरबारसम्म पुगेर पनि सेवा गरे अर्थात् उनीहरूका हार्मोनियम बनाए ।
‘नाम चलेका हुतराज बाजे थिए । रत्नदास प्रकाश भन्ने नेपालका राम्रो पियानोवादक, अमर गुरुङ, नातिकाजी, नारायण गोपाल, पे्रमध्वज, प्रेमध्वजकी आमा सबैको सेवा गरें’, विगत सम्झँदै साहले थपे, ‘नारायण गोपालजी आफ्नै छाँटको हुनुहुन्थ्यो, प्रेमध्वज भलाद्मी । उहाँ जस्ता सायदै कोही हुन्छन् ।’
उनले दरबारको कुरा पनि सुनाए । ‘दरबारमा बुबा जानुहुन्थ्यो । बुबाको पछि लागेर जान्थें तर काम मै गर्थें । दरबारमा राम्राराम्रा आर्टिस्टहरू थिए, गायक एवं संगीतकार फत्तेमान राजभण्डारी, विष्णुमान, रत्नमान । हामीले त लप्टनहरूको अन्डरमा काम गथ्र्यौं । दीपेन्द्र सरकार, धीरेन्द्र सरकारहरूसँग बोलचाल नभए पनि आमनेसामने हुन्थ्यौं । दयालु हुनुहुन्थ्यो उहाँहरू ।’
संगीतको लतले कुलतमा
सानैदेखि बुबासँगै हार्मोनियम बनाउने काममा लागेका हरेराम कुनै समय कुलतमा नराम्रोसँग फसेका उनकी श्रीमती सुनैना बताउँछिन् । १४ वर्षमै उमेरमा विवाह बन्धनमा बाँधिएका उनी ३ सन्तानका बुबा भइसकेपछि कुलतमा फसेका हुन् ।
कारण थियो– संगीतबाट छुट्टिनुको पीडा । श्रीमतीसँगै २ छोरा र १ छोरी महोत्तरीमै बस्थे । बुबासँगै काठमाडौंमा हार्मोनियमको पसल चलाइरहेका साहका बुबाले एक दिन भने, ‘भाइहरू सानै छन् । यिनीहरूले केही गर्न सक्दैनन् । आफ्नो परिवार छ तेरो, पसल यिनीहरूलाई दिएर तँ अरू केही धन्दा गर ।’
साहले हार्मोनियम बनाउने काम मात्र गरेका होइनन्, उनले फत्तेमान राजभण्डारीले रुचाएका नेपाली संगीतका महान हस्ती अम्बर गुरुङबाट हार्मोनियमको शिक्षा लिएर उनकै वाद्यवादन समूहभित्र ६–७ वर्ष काम पनि गरे, जुन कुरा उनका बुबालाई चित्त बुझेन र पसलबाट निकालिदिए । यही कुराको तनावले उनी कुलतमा फसे ।
‘ससुराबुबाले यो त बौलाहा भयो, संगीत सिक्छ, यताउता जान्छ, यसका बच्चाहरूलाई कसले पढाउँछ भनेर छुटाइदिए । सँगै गरिराखेको मान्छे छुटाएपछि कहाँ जान्छ ? के गर्छ ? अनि घर गए । घरमा गएर टेन्सन भएर होला, रक्सी खान्थे । पछि बच्चाहरू लिएर म पनि काठमाडौं आएँ । त्यतिबेला नि उनी त रक्सी खाएर हिँड्थे नारायण गोपालहरूसँग’, सुनैनाले हाँस्दै दुःख सुनाइन् ।
कर्मप्रतिको विश्वासले सफल
बुबा सँगसँगै लागेर १७ वर्ष हार्मोनियमको काम गरिसकेका साहलाई बुबाबाट छुट्टिँदा पीडा भए पनि उनलाई आफ्नो कामप्रति पूर्ण विश्वास थियो । साथै, श्रीमतीको साथ पनि । श्रीमतीसँग काठमाडौं पसेपछि ३ जना सन्तानलाई स्कुल हालेर दिनभर उनीहरू सोही काम गर्न पुलचोक पुग्थे ।
त्यति बेला सुनैना अनभिज्ञ थिइन्, हार्मोनियम बनाउने कामप्रति । उनी पार्ट पुर्जा पुछ्ने काम गर्थिन् भने हरेरामले सुर मिलाउँथे ।
घुम्दाघुम्दैको कामबाट कमाएको पैसा जोडेर उनीहरूले असनचोकदेखि बांगेमुढातर्फ जाने बाटोमा पसल थापेका हुन् । ‘मलाई केही आउँदैनथ्यो, सफा गर्थें । उहाँले सुर मिलाउनुहुन्थ्यो । त्यही बेला उहाँलाई ५०० दिन्थे, मलाई अढाइ सय । त्यही पैसा जोडेर पसल थापेको’, सुनैनाले भनिन् ।
सुरुमा भने पसलका लागि भाडामा ठाउँ पाउनै मुस्किल परेको हरेराम बताउँछन् । ‘सक्दैनन् यिनीहरूले भाडा तिर्न । छोराछोरी पाल्छन् कि भाडा तिर्छन् भनेर पाउँदै पाइएको थिएन, बल्लबल्ल यो ठाउँमा पाएको । त्यति बेलादेखि सरेको छैन’, ३० वर्षअघिको कुरा सुनाए उनले ।
सुरुसुरुमा बिग्रिएको हार्मोनियम बनाउने उनीहरूले पछिपछि आफैं बनाउन थाले । त्यस समय आफैंले बनाएको एउटा हार्मोनियम २०० रुपैयाँमा बेचेका हरेरामले अहिले डेढ लाखसम्ममा बेच्छन् । पाकिस्तानी गजल सम्राट गुलाम अलीदेखि नेपालका महान सांगीतिक हस्तीले पत्याएका साहले आफू हार्मोनियमको डाक्टर बनेर तीनै जना सन्तानलाई डाक्टर पढाए ।
अहिले उनका जेठा छोरा पढाइकै शिलशिलामा अमेरिकामा छन्, छोरी किस्ट हस्पिटलमा कार्यरत छन् । कान्छा पनि पढ्दै छन् ।
पसल थापेदेखि आजसम्म १ दिन पनि पसल बन्द गरेर बसेको साह दम्पत्तीलाई याद छैन । दुवै जना बिहान ७ बजे पसल खोल्छन् र राति ८ बजे बन्द गर्छन् । २ जना युवकलाई पनि हरेरामले हार्मोनियम बनाउने काम सिकाइरहेका छन् ।
संगीेतमा लागेर गीतमा संगीत नभरे पनि उनको निरन्तर अभ्यासले उनलाई एउटा कुशल हार्मोनियमको ‘डाक्टर’ बनाएको छ, जसले हार्मोनियमको सुरमा लागेको जस्तोसुकै रोगलाई पनि पत्ता लगाई ठीक पारिदिन्छ ।