२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

मोरङको बेलबारी, सुन्दरहरैँचा र केराबारी क्षेत्रमा जंगली हात्तीको उपद्रो

himalayanlife
२०८१ माघ ६ गते १०:२७
Shares
मोरङको बेलबारी, सुन्दरहरैँचा र केराबारी क्षेत्रमा जंगली हात्तीको उपद्रो

मोरङ : सुन्दरहरैँचा नगरपालिका-८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत बिहीबार राति  घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो ।

माउ हात्ती छावा (बच्चा)सहित आएको गाउँमा आएको थियो  । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई आतंकित नहुन र सकेसम्म जंगली हात्तीबाट सुरक्षित रहन आग्रह गरेका छन् । “हामी जंगल क्षेत्र तथा हात्ती प्रभावित क्षेत्रमा आवश्यक पोलबत्तीको काम गरिरहेका छौँ”, उनले भने, “नागरिकको जीउधनको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो, काम पूरा गर्न समय लाग्छ ।”

नगरको उत्तरतर्फको सामुदायिक वनमा एक दर्जनभन्दा बढी जंगली हात्ती रहेको र स्थानीयवासीलाई रातभर त्रास दिएको यहाँका वडाध्यक्ष  खेम न्यौपानेले बताए । उनले हात्तीको त्रासका कारण यहाँका स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपरेको उल्लेख गरे ।

विगत तीन साताअघि सुन्दरहरैँचा-५ गुरुङ टोलका  ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको वनमा दाउरा काटेर घर फर्कँदा जंगली हात्तीको आक्रमणबाट निधन भयो । साथै एक महिनाअघि सुन्दरहरैँचा-७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गंगा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो । यहाँको पालिकामा जंगली हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जंगली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गरेको मोरङ डिभिजन वन कार्यालयले जनाएको छ । जंगली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेको प्रहरीले जनाएको छ ।

सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा दैनिक जसो हात्तीको हुल देखिने गरेको छ । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्‍याउने गरिरहेको छ ।

यसबीच मोरङमा एक वर्षमा दुई जंगली हात्ती मृत फेला परेका छन् । एउटा जंगली हात्तीलाई विगत वर्षमा यहाँ गोली हानेर हत्या गरिएको थियो । जंगली हात्तीका कारण एक महिनामा सुन्दरहरैँचामा तीन जनाको ज्यान गइसकेको छ ।

Tags : केराबारी सुन्दरहरैँचा नगरपालिका हात्ती

सम्बन्धित खबर