काठमाडौँ : बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १४ जनाबिरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।
उनीहरूबिरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ । सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यो मुद्धामा लामिछानेसहित ४२ जना प्रतिवादी पुगेका छन् ।
यसअघि वैशाख ३ गते दर्ता भएको मुद्दामा प्रतिवादी बनाइएका सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध वैशाखमा मुद्दा दर्ता भएको थियो । अहिले थप १४ जनालाई प्रतिवादी बनाइएको छ ।
रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ ।
प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउन राय सहितको प्रतिवेदन गत शुक्रवार बुझाएको थियो ।