काठमाडौं : ‘हेर्ने कथा’बाट चर्चामा आएका भोजपुरका प्रकाश तामाङका लागि घर निर्माण भएको छ ।
पूर्वमन्त्री एवं सांसद सुदन किरातीको पहलमा गत भदौमा घर निर्माण थालिएको थियो । भूतपूर्व गोर्खा सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईले दिएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर समितिले घर निर्माण गरेको हो ।
भोजपुरको षडानन्द नगरपालिका–१० मा पाँचकोठे घर निर्माण सम्पन्न भएपछि सोमबार उक्त घर प्रकाशलाई हस्तान्तरण गरिने छ । सांसद किरातीको उपस्थितिमा उक्त घर प्रकाशलाई हस्तान्तरण गरिने छ ।
गेसोका पूर्वअध्यक्ष राईले दिएको करिब १५ लाख मूल्य बराबरको उक्त जमिन ७ रोपनी क्षेत्रमा फैलिएको छ । करिब ३३ वर्ष हराएका प्रकाश हेर्ने कथाको माध्यममार्फत घरपरिवारसम्म आइपुगेका हुन् ।
प्रकाश हराएर लामो समय बसेको गोरखाको चुमनुव्री गाउँपालिकास्थित चेकमपारबाट सदाका लागि घर फर्किएका छन् । त्यसपछि उनी भोजपुरको षडानन्द नगरपालिका, छाप्लेगाउँस्थित घरमा बाबुआमासँग बस्दै आएका छन् ।