२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

विपीनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता 

himalayanlife
२०८१ माघ ७ गते १६:३६
Shares
विपीनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता 

काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल अतिसँग आज फोनवार्ता गरेकी छन् ।

इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री डा राणाले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग आज सो आग्रह गरेकी हुन् ।

आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहेकी मन्त्री डा राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गरेकी हुन् । फोनवार्ताका क्रममा मन्त्री डा राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्टि सरकारलाई धन्यवाद दिएकी थिइन् । त्यसैगरी इजिप्टका विदेशमन्त्री डा अब्देल अतिले विपीनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए । 

इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री डा राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपीन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन् । केही दिनमात्र अघि मन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।   

त्यसैगरी मन्त्री डा राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि केही दिनअघि फोनवार्ता गरी हमासहरुले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरुको पहिलो चरणमै विपीन जोशीको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरेकी थिइन्। विपीनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा राणाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकहरुमार्फत विपीनको रिहाइका लागि आग्रह गर्दै आइरहेकी छन् ।

सम्बन्धित खबर