काठमाडौं : चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे प्रहरीले दोस्रो चरणको अनुसन्धान सक्दै थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ ।
सहकारीको रकम अपचलन दोस्रो चरणको अनुसन्धानमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको हो ।
यसअघि ८ भदौमा १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएकाले सहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादीको संख्या अब ३१ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार २ चरणमा पक्राउ पुर्जी लिइएका १४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको पछिल्लो प्रतिवेदन चितवन जिल्ला अदालतमा बुझाएको छ ।
प्रहरीले चितवन जिल्ला अदालतबाट ७ मंसिरमा पूर्वगृहमन्त्री लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।
अनुसन्धानको क्रममा थप व्यक्ति खुलेपछि ४ जनाविरुद्ध पुनः पक्राउ पुर्जी लिएको थियो, जसका कारण पूरक अभियोजनमा थप १४ नयाँ प्रतिवादी बनाउनुपर्ने राय प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । उनीहरूलाई मुलुकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय पनि प्रहरीले दिएको छ ।
चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको बताए । उनका अनुसार प्रतिवेदन अध्ययनपछि मुद्दा दर्ता प्रक्रिया अघि बढ्छ ।
यसअघि ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै ८ भदौमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । अहिले १४ जना नयाँ प्रतिवादीसमेत थपिएकाले बिगो रकम बढेर ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ पुगेको छ ।
गत मंसिर पहिलो साता २४ बचतकर्ताले लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको थियो ।
प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिमानाको समेत मागदाबी गरिएको थियो ।
प्रहरीले ९ मंसिरमा लामिछानेलाई काठमाडौंबाट चितवन लगेर बयानसमेत लिएको थियो ।
प्रहरीका अनुसार पोखराको सूर्यदर्शन तथा बुटवलको सुप्रिम सहकारीमा जस्तै सहाराबाट पनि लामिछानेकै नाममा कुनै पनि कर्जा गएको भेटिएको छैन तर यो सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएको र त्यसपछिको कारोबार तथा खर्चमा लामिछानेलाई पनि प्रतिवादी बनाउनुपर्ने राय प्रहरीको छ ।
सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगन्जको सानो पाइला सहकारीबाट ८ अर्बभन्दा बढी रकम अपचलन भएको निष्कर्ष निकालेको थियो ।
यसमध्ये ६५ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा ल्याई अपचलन भएको भन्दै रवि लामिछाने, छविलाल जोशी, जी. बी. राई र कुमार रम्तेलविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही गर्न समितिले सिफारिस गरेको थियो ।
दोस्रो चरणको अनुसन्धानको क्रममा जी. बी. राईले संचालन गरेको गोर्खा मिडियामा १० लाख रुपैयाँ गएको अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनले गोर्खा मिडियामा १० लाख ८० हजार १५१ रुपैयाँ रकम सहारा चितवन सहकारीबाट सोझै गएको देखिएको हो ।
यसअघि पहिलो चरणको अभियोगपत्रमा समेत गोर्खा मिडियामा रकम गएको बारे फरकफरक विवरण भेटिएको थियो ।
थुनामा राख्न माग
सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका रास्वपा सभापति लामिछानेसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ ।
सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय कास्कीले ७ जनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै निवेदन दिएको हो । निवेदनमा जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिएको आदेश बदर गरी पुर्पक्षका लागि थुनामै राख्न माग गरिएको छ ।
यसअघि जिल्ला अदालत कास्कीले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जिल्ला अदालत कास्कीले २५ पुसमा लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको हो ।
अदालतले माग गरेको धरौटी बुझाएर त्यसै दिन ६ जना र लीला पछाई भोलिपल्ट रिहा भएका थिए ।
लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको थियो । उनलाई भन्दा बढी पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । पछाईलाई ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई १ लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको थियो ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंले पनि धरौटीमै रिहा गरेको छ । स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका छन् ।
उनीहरूमाथि रुपन्देहीमा सुप्रिम सहकारी ठगीको आरोपमा अर्को मुद्दा पनि दर्ता भइसकेको छ ।
जोशी ५० लाख धरौटीमा रिहा
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुद्दामा अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद पोखरेलको इजलासमा भएको छुनछेक बहसको क्रममा छविलाई ५० लाखमा छाड्न आदेश दिइएको हो । छवि आइतबार अदालत उपस्थित भएका थिए । आफू धरौटी बुझाएर छुटिसकेको भन्दै उनले छिट्टै रुपन्देहीमा हाजिर हुन जाने बताए । जोशी गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक हुन् ।